दुहवीभलुवा/टाँउकोमा ४२ टाँका लागेको छ । देब्रे हातको नाडीमा स्टील लगाइएको छ । दाहिने खुट्टाको तिघ्रामा उसैगरी स्टील लगाइएको छ । १२, बैसाख, २०७२ को बिनासकारी भूकम्पले दुहवी भलुवा नगरपालिकाकी रिता चौधरी (४६) लाई यस्तै पीडा थोपरेको छ । मनलाई थाम्न सक्दिनन् । सम्झिदा भक्कानिन्छिन् । त्यही भूकम्पले उनको ७ वर्षीय नातिनी प्राची चौधरी खोसिदियो । बुहारी दीपाको दाहिने काध र कम्मरमुनीको केही हड्डी भाचिदियो । त्यसबाट उनी अझै तग्रिन सकेकी छैनन् । अहिले पनि उपचारको लागि विभिन्न अस्पतालहरु धाइरहेका छन् । घटना भएको बेला गोल्डेन अस्पताल बिराटनगर चहारेको उनको परिवारले न्युरो, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान धाइसके । अहिले चिकित्सकहरुले दिल्ली लान सुझाइरहेका छन् । उपचारले दुवही बजारमा भएको १५ लाखको भाडावर्तन पसल सकियो । ऋण टाँउको भरी छ । त्यो सम्झिदा उनको मनमा ज्वाराभाटा चल्छ । तहसनहस पार्ने गरी आएको त्यो भूकम्पले ६ महिना अस्पतालको बेडमा थलाइदियो । अहिले पनि राम्ररी हिडडुल गर्न सक्दिनन् । ‘जिन्दगीभरी नर्बिसिने चोट दिएर गयो । मेरो नातिनी अहिले पनि यही आगनमा खेलिरहेको झै लाग्छ ।’ त्यसो भनिसक्दा उनी भक्कानिन्छिन् । बैसाख १२ को शनिबार भएको घटना बयान गरिरहँदा २०७३ को बैसाख ११ शनिबार एकवर्ष पुगेको दिन पनि उनको आँखा ओभाएका थिएनन् । नातिनी सम्झेर दिनभरी आशुका धारा बगाइन् । त्यो दिन सम्झन अघि नै उनका आँखाहरु रसाइसकेका हुन्छन् । उनको परिवारलाई सरकारले राहतको नाममा क्रियाखर्च र एक लाख रुपैया थमाइदियो । त्यो पनि सहज ढंगले उनले प्राप्त गरिनन् । विभिन्न कागजपत्र, नागरिकता, प्रहरी रिपोर्ट लगायतको झन्झटिलो प्रोसेसले उपचार गर्ने कि १ लाख रुपैयाको लागि जिल्ला प्रशासन धाउले । यस्तै बोझले केही समय थिचेको अनुभव बाड्छन् प्राचिका पिता राजेशले । ‘मर्ने त म¥यो तर, बाँच्नेलाई सरकारले राहत दिनुपर्ने हो । भइरहेकोहरुलाई उपचार गरिदिने गरी राहत प्रदान गर्ने पो सरकार ।’ उनी प्रश्न गर्छन् । भूकम्पले नजिकै रहेका चुन फ्याक्ट्रीको वाल भत्किएर उनको परिवारको खुसी छिनेको थियो । त्यस दिन दुवहीभलुवा नगरपालिकाको विभिन्न क्षेत्रको वाल भत्किएर ६ जनाको ज्यान गएको थियो भने ४ जना घाइते भएको थिए । दुहवीभलुवा(७ का राजेन्द्र मण्डल (४७) को बुढेशकालको साहारा राहुल थिए । त्यही राहुल घरनजिकैको दालचामल गोदामको साढे ९ फिटे वाल भत्किएर एकैसास भइदियो । त्यो सम्झिदा नराम्ररी भक्कानिन्छन् उनी र श्रीमति जानकी । ६ कक्षामा पढ्दै गरेको छोरोले पढेर आमाबुबालाई पाल्ने कसम खादै थियो । ‘छोरोले भन्थ्यो पढेपछि बुबाआमालाई कमाएर खुवाउँछु ।’ आमा जानकीले भनिन् । घर अघिको पर्खाल काल बनेपछि उनीहरुको परिवारमा कहिल्यै खुसी फिरेको छैन् । बरु पर्खालले उस्तै उचाई पाइसकेको छ । पिल्लर पाइसकेको छ । राम्ररी तग्रिसकेको छ । तर, उनको परिवार झन पीडाको चाङ बनिरहेको छ । अहिले पनि सानोतिनो भूकम्प आउँदा उनको परिवारले राहुललाई सम्झिन्छ । घर अघिको अग्लिएको पर्खाल हेर्छन् । र, खुसी छिनेको दिन स्मरण गर्छन् । त्यसदिन बन्दै गरेको घरको गिटीमा खेलेको सम्झिन्छन् । सायद त्यही गिटीमा खेल्न दिएको भए राहुल अहिले कक्षा ७ मा हुन्थे र बुबाआमालाई कमाएर खुवाउने सपना पूरा गथ्र्यो । तर, त्यो अव स्मरणमा मात्रै छ मण्डल परिवारको । घरको आश त्यही राहुल थियो । हिम्मत थियो । बुढेशकालमा त्यही एउटा थियो उनीहरुको अध्यारो कोठालाई उज्यालो दिने । त्यो पनि निभेपछि कस्का लागि गर्ने ? यस्तै मनमा खेल्न थालेको छ । ‘छोराछोरीको लागि दुःख गर्थे अव त त्यो पनि छैन्, के का लागि दुःख गर्नु ?’ राजेन्द्र भन्छन् । सरकारले उनलाई क्रियाखर्च ४० हजार दियो । त्यसपछि सरकारबाट प्राप्त गर्ने एक लाख रुपैया उनले कहिल्यै पाएनन् । गरिवको ज्यानको मूल्य ४० हजार मात्रै । नागरिकता छैन् भनेर उनले पाउने एक लाख रुपैया पनि हात लागेन् । उनले छिमेकीहरुको नागरिकता, प्रहरी रिपोर्ट, नगरपालिकाको कागजपत्र प्रशासनमा पेशे । तर, नागरिकता नभएपछि त्यही पाउने १ लाख रुपैया पनि गुमाए । ‘नागरिकताको के कुरा भो र ? ज्यान त सबैको उस्तै हो ।’ उनी आक्रोस पोख्छन् । पीडा आलै छ । उनमा केही गर्ने हिम्मत गुमेको छ । राज्य पनि हुनेकै मात्र पछि लागेपछि उनले आफ्नो पीडा कसलाई पोख्ने उनी अनुत्तरित छन् । त्यहीका उमेश गुप्ताले भूकम्पले दुई बच्चीको आमा गुडियादेवीलाई छिन्यो । गुडियादेवी र उमेशले खुबै दुःख गरेर दुईवर्ष अघि घर जोहो गरेका थिए । १५ वर्ष भाडाको घरमा बसेका उनीहरुले बल्ल मात्रै सास फेरेका थिए । ‘श्रीमति खुवै खुसी थिइन् घर बनाउन पाएकोमा ।’ उमेश भन्छन् ‘तर, घरमा बस्ने सपना पनि त्यही भूकम्पले लगिदियो ।’ आलै पीडा बोकेर अहिले उनी फलफूल बेच्छन् । छोराछोरीले आमाको बारेमा सोध्दा उनी नाजवाफ हुन्छन् । जीवनभरीको चोट बोकेर फोस्रो मुस्कान लिएर दैनिकी गुजारर्दैछन् । भूकम्पले बेचनी खातुनको पनि खुसी छिन्यो । ७० वर्ष पार गरेकी आमा जयतुन खातुनले भूकम्पको कारणले कृषि विकासको पर्खाल भत्किएर सास रोकिदियो । छोरी रोशनको दाहिने खुट्टाको चोटले ६ महिना अस्पताल बस्नु पर्ने बनाइदियो । अहिले पनि खुट्टाको दुखाईले भूकम्पको याद मनमा चस्काइदिन्छ । चारमहिनाको गर्भ बोकेकी उनको छोरो अहिले ६ महिना पुगेको छ । अहिले पनि हल्लियो भने डरले दुहवीभलुवा(९ इस्लामपुर एकठाउँमा उभिन्छन् । जीवनको ६ दशक टेकिसक्दा पनि यस्तो प्रलयकारी भूकम्पको सामना गरेकी थिइनन् बेचनीले । त्यही भूकम्पले आमा परलोक भइन् । जस्मिन महमदको खुट्टामा चोट लागेको थियो । अझै पनि भूकम्प दुहवीको पीडितहरु तग्रिन सकेका छ्रैनन् । त्यही दिनसम्झेर डराउँछन् । मुन्ना साहले आफ्नो श्रीमति र ७ महिनाको बच्ची गुमाए । तर, एकवर्ष भइसक्यो पीडा भुलाउन सकेका छैनन् । श्रीमति र छोरीको यादले उनलाई बेला बेला पिरोल्छ । प्रेमविवाह गरेका थिए उनले । अन्तरजातीय विवाहका कारण घरले नस्विकारेपछि उमेशको घरमै डेरा गरी बस्थे मुन्नाको परिवार । तर, जिन्दगीभर अलग्यायो त्यही भूकम्पले । भूकम्पले श्रीमतिछोरी नै गुमेपछि अहिले हिम्मत कसेका छन् । तर, राज्यले उनलाई गरेको विभेदप्रति निक्कै आक्रोसित छन् । सरकारले मृतकका लागि घोषणा गरेको एक लाख रुपैयामा एउटै परिवार भन्दै प्रशासनले एक लाख रुपैया मात्रै थमाइदियो । अर्को एकलाखको कुरा गर्दा एक परिवारमा जति बिते पनि एकैलाख पाउँछ भनेर भनिदियो । तर, जिल्ला प्रशासनका केही दलालहरुले १५(२० हजार रुपैया खर्च गरे अर्को एक लाख पाउँछस् भनेर भन्दा सिस्टमप्रति आक्रोसित हुन्छन् । सरकारले भूकम्पपीडितहरुलाई फरक फरक नजरले हेर्दा मन थामिदैन उनको । आखिर सरकार काठमाडौं मात्रै देश हो ? यस्ता जिज्ञासाहरु उनको मनमा खेल्छन् हरदम । अहिले पनि रकमको लागि भौतारि नै रहेका छन् । त्यो रकम प्राप्त गर्नको लागि केही हजार सिध्याए, केही हजार बोली सिध्याए । तर, छैन् । यस्तो विपति कसैलाई नहोस् नै, सरकारले पनि यस्तो विभेद नगरोस् उनी कामना गर्छन् । याे समाचार एकवर्ष अघि ब्लाष्टकाे लागि तयार पारिएकाे हाे । सन्दर्भ विशेष परेकाले अनलाइनमा हालिएकाे हाे ।