धरान/विराटनगर उपमहानगरपालिका ११ कि एक महिलाले बैशाख ३१ गते हुने चुनावमा वडा सदस्यको उम्मदेवार बन्नका लागि श्रीमानसंग सम्बन्ध विच्छेद नै गरेकी छन् । १८ वर्षअघि स्थानीय सवदनारयण सरदार थारुसंग प्रेम विवाह गरेकी ३६ वर्षीया रिंकुदेवी परियारले यस्तो निर्णय गरेकी हुन् । रिंकुदेवीले गत आइतबार मात्रै श्रीमानसंग सम्बन्ध विच्छेद गरेको जिल्ला अदालत मोरङले जनाएको छ । सम्बन्ध विच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट बाबुको नाममा नागरिकता लिएकी छिन् । उनी एमालेको दलित कोटाबाट वडा सदस्यमा दलित महिला कोटामा उम्मेदवार बन्ने भएपछि रिंकुले श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी हुन् । सम्बन्ध विच्छेदपछि एमालेले उनको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । यसअघि श्रीमानको नामबाट बनाएको नागरिकतामा उनको थर सरदार थारु भएकाले त्यसबाट उनी दलित कोटामा उम्मदेवार बन्ने सम्भावना दिएन । साथै श्रीमानले ११ वर्षअघि कान्छी श्रीमती ल्याएपछि उनी दुई छोराछोरीका साथ एक्लै बस्दै आएकी थिइन् । श्रीमानको नामबाट लिएको नागरिकता उमेद्धवार बन्न बाधक बन्ने भएपछि विकल्पका रुपमा सम्बन्ध विच्छेदलाई रोजेको रिंकु बताउँछिन्