विराटनगर/ स्थानीय तहको निर्वाचनमा विराटनगर उपमहानगरपालिका वडा नं ५ बाट श्रीमान्श्रीमती नै वडाध्यक्षको दावेदार देखिएका छन् । त्यो पनि फरकफरक पार्टीबाट । एकै वडाबाट वडाध्यक्षको दावी गर्ने जोडी हुन्– विराटनगर मुनालपथका राजेन्द्रप्रसाद रिजाल र रमा रिजाल ।
श्रीमान् राजेन्द्र नेपाली कांग्रेस र श्रीमती रमा नेकपा एमालेबाट वडाध्यक्षका आकांक्षी हुन् । नेपाली कांग्रेस विभाजित हुँदा प्रजातान्त्रिक कांग्रेसको नगर सचिवसमेत भएर काम गरेका राजेन्द्र अहिले कांग्रेसको ७ नम्बर क्षेत्रीय समिति सदस्य छन् । श्रीमती रमा पनि एमालेको क्षेत्रीय कमिटी सदस्य नै हुन् । उनी अखिल नेपाल महिला संघको वडा नम्बर ५ को अध्यक्ष र नगर सचिव पनि हुन् । अलगअलग पार्टीका समान हैसियत राख्ने रिजाल दम्पत्ती विचार र राजनीतिले परिवार सञ्चालनमा खासै असर नगरेको बताउँछन् । विवाहअघि नै दुबैजनाको विचार र सिद्धान्तबारे बुझेकाले राजनीतिमा कसैको करकाप नभएको उनीहरूको भनाइ छ । ‘विद्यार्थीकालदेखि नै आ–आफ्रनाे विचारबाट प्रशिक्षित भएर आयौं, सबैलाई विचारको स्वतन्त्रता हुनुपर्छ भन्ने मान्यता हामीले राख्यौं, त्यसैले हामीलाई राजनीतिले पारिवारिक वातावरणमा प्रभाव पारेको छैन’ रिजाल दम्पत्तीले उद्घोषसँग भने । दुईवटै पार्टीका कुरा सुनेर आपूmहरूलाई निष्कर्ष निकाल्न सहयोग पुगेको उनीहरूको बुझाइ छ । राजनीतिक कुराले पारिवारिक कुरामा कहिल्यै अप्ठ्यारो नपारेको उनीहरूको अनुभव छ ।
वि.सं २०२८ सालदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका राजेन्द्रले २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन, २०६२, ०६३ को आन्दोलनमा सक्रिय भूमिका निभाएका छन् । ‘अहिले वडाध्यक्षको दावेदारी प्रस्तुत गरेको छु । म नै सबैभन्दा योग्य भन्ने लाग्दैन । मापदण्ड बनाएर पार्टीले उपयुक्त मान्छेलाई अगाडि बढाओस्,’ राजेन्द्रले भने–‘हाम्रोभन्दा पनि राम्रो मान्छेले टिकट पाउनुपर्छ । त्यसो भएमात्रै पार्टीभित्रको एकता पनि बलियो हुन्छ ।’ एमालेबाट वडाध्यक्षको दावेदार श्रीमती रमाको पनि श्रीमान् राजेन्द्रकै जस्तो धारणा छ । उनी भन्छिन्–‘ राज्यका हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चितता हुनुपर्ने माग उठिरहेका बेला आफूले उम्मेदवारको दावी गरेकी हुँ ।’ विद्यार्थीकालदेखि नै अखिलको राजनीतिमा सक्रिय रमा भन्छिन्–‘एमालेले पनि विचार गर्नुप¥यो राम्रो र योग्य छान्नुपर्यो। आफ्नोलाई काखा र अर्कोलाई पाखा गर्नु हुँदैन ।’