धरान/ गत फागुन १९ गते धरानमा भएको मिस टुरिज्म २०७३ की विजेता धरान १५ की मेघा रसाईलीलाई टोलवासीले सम्मान गरेको छ ।
धरान १५ स्थित निराजन मार्गकी स्थायीवासी रसाईलीलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि उनलाई सम्मान गरेको हो ।
निराजन महिला बचत समुहले आफ्नै भवनमा आयोजना गरेको सम्मान कार्यक्रममा समुहकी अध्यक्ष विष्णु माया ढुङगानाले खादा लगाईदिदै सम्मान पत्रले सम्मान गरेकी हुन् ।
कार्यक्रममा उपस्थित टोलवासीहरुले अबिर र खादाले उनलाई सम्मान गरेका थिए । सुकुम्बासी क्षेत्रमा बसोबास गरे पनि यस क्षेत्रका युवाहरु पनि शैक्षिक हिसाबले अग्रपंक्तिमा रहेको उदाहरण पेश गरेको भन्दै टोलवासीहरुले उनलाई सम्मान गरेका हुन् ।
स्थानीय चन्द्र बहादुर रसाईली र उर्मीला रसाईलीकी छोरि मेघाले यस अघि असोज १४ गते भएको मिस विश्वकर्माको फस्ट रनरअप भएकी थिईन् ।
उनले प्रतियोगितामा १५ जनालाई पछि पार्दै मिस टुरिज्म नेपालको ताज पहिरिन सफल भएकी थिईन् । कार्यक्रममा आफ्नो टोल, समाजको लागि सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
उनले टोलवासीहरुको सहयोग, साथ पाएकाले नै ताज पहिरिन सफल भएको बताउँदै टोलवासीहरुलाई धन्यबाद दिईन् । रसाईलीले मिस टुरिज्म २०७३ को ताज सहित सौर्य एयरलाइन्समा सिधै एयर होस्टेजको जागिर पाएकी थिईन् भने स्कुटी जितेकी थिईन ।
निराजन महिला बचत समुहले मासिक रुपमा १ सय रुपैया संकलन गरि टोलवासीहरुलाई आयस्रोत वृद्धिमा लगानी गर्दै आएको छ । विशेष गरि बालबालिकाहरुमा हुने कुपोषण विरुद्धको अभियानमा समुहले सचेतना कार्यक्रमहरु गर्दै आएको समुहकी सदस्य सावित्रि ईवारुमले बताईन् ।