काठमाडौं/ सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले यसको विकल्प खोज्नुपर्ने आवश्यकता औल्याउँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारको विकल्पको सङ्केत गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘मुलुकमा सरकारको कारण भ्रष्टाचार र बेथिति चरम रुपमा बढेको छ । यसको विकल्प खोज्नु पर्छ ।’ एमालेसँगको नजिकिँदो सम्बन्ध र सरकार परिवर्तनको सम्भावनाको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा यादवले त्यस्तो बताएका हुन् । उनले एमाले आफूहरुको स्थायी शत्रु नभएको र राजनीतिमा स्थायी शत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए । साक्षात्कारमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका संयोजक यादवले मुलुकमा बेथिति बढेको र एनसेलसँग अर्बौं लाभकर उठाउन नसकेको, र सरकारले आफ्ना कार्यकर्ताको नाममा करोडांै पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको आरोप लगाए । एनसेलसँग लिनुपर्ने लाभकरको विषयमा सरकारले छानविन गर्नुपर्ने उल्लेख गर्दै यादवले भने, ‘यो ठूलो भ्रष्टाचार हो, अहिले अख्तियारलाई थन्क्याइहाले, अब कसले छानविन गर्छ ? मुलुकलाई लुटेर चुनाव गर्न खोजिँदैछ ।’ यादवले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भने, ‘कहीँ नभएको जात्रा नेपालमा भनेजस्तै भएको छ, स्थानीय निर्वाचनको नाममा अहिलेको सरकारले उल्टो बाटो पछ्याइरहेको छ, सुल्टो बाटो भनेको पहिले केन्द्रीय संसदको चुनाव गर्नुपर्छ ।’ उनले दाहाल नेतृत्वको वर्तमान सरकार टाउकोले टेकेर हिँडिरहेको आरोप लगाउँदै भने, ‘टाउकाले यात्रा कहाँसम्म गर्न सक्छ ? हामी खुट्टाले हिँड्नको लागि सुझाव दिइरहेका छौं, हिजो राजाले पनि यस्तो निर्वाचन नगरेका होइनन्, त्यस्तै आज सरकारले सेना परिचालन गरेर निर्वाचन गर्नु भनेको मुलुकलाई झन् भड्खालोमा जाक्ने काम हो ।’ यादवले सरकारले सेना लगाएर चुनाव गराउन खोजे त्यो प्रत्युत्पादक हुने चेतावनी दिए । यादवले सरकारले मोर्चासँग गरेको सहमति कार्यान्वयन गरेको भए अहिले मुलुकमा यस्तो समस्या नै नआउने दाबी गरे । उनले भने, ‘हामीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारले गम्भीरता देखाएन ।’