पाँचथर/ ताप्लेजुङको सिमाना भएर बग्ने कावेली नदीमा निर्माण गर्न लागिएको कावेली ‘ए’ जलविद्युत परियोजनाको विहीबार सिलान्यास गरिएको छ । ड्याम निर्माण स्थल हिलीहाङ गाउँपालिका–१, खोलाखर्कमा आयोजित एक कार्यक्रममा स्थानीय वयोवृद्ध दुर्गाप्रसाद भण्डारीले परियोजनाको सिलान्यास गरे ।

अन्तराष्ट्रिय सहयोगी निकाय अष्ट्रेलियन वैदेशिक सहयोग नियोग (डीएफएटी), स्विस आर्थिक सहयोग नियोग (एसइसीओ), वेलायतती अन्तराष्ट्रिय सहयोग नियोग (डिएफआइडी), विश्व वैंकलगायतका प्रतिनिधिको उपस्थितीमा परियोजनाको सिलान्यास गरिएको हो । इन्फ्राको एसियाको प्रवद्र्धन तथा बुटबल पावर कम्पनीको सञ्चालनमा दश अर्ब रुपियाँ लगानीमा कावेली ‘ए’ बन्न जलविद्युत परियोजना बन्ने भएको हो । कार्यक्रममा बुटबल पावर कम्पनीका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले परियोजनाको सुरुङ निर्माण कार्य एक महिना भित्रमा सुरु गर्ने जानकारी दिए । परियोजना तीन वर्ष भित्रमा बनाई सक्ने लक्ष्य राखिएको छ ।

काबेली ‘ए’मा बुटवल पावर कम्पनीको ५५ प्रतिशत र इन्फ्राको एसियाको ४५ प्रतिशत लगानी रहने परियोजना प्रोजेक्ट म्यानेजर विरेन्द्र श्रेष्ठले जानकारी दिए । यो परियोजना निर्माणको जिम्मा चिनियाँ कम्पनि जिज्याङ् हाइड्रोले पाएको छ । यसको सुरुङ खोलाखर्कदेखि हिलिहाङ गाउँपालिक–२ पिनासीघाटसम्म चार दशमलव चार किलोमिटर रहनेछ ।

त्यस्तै एक किलोमिटर फैलावटमा जलासय निर्माण हुने गरि १४.०९ मिटर उचाईको ड्याम निर्माण गरिने जनाइएको छ । कावेली ‘ए’को पावर हाउस निर्माण गरिने पिनासीघाट र ड्याम बनाइने खोलाखर्क पुग्ने पहुँच मार्ग निर्माण गरि सकिएको छ । आफ्नो क्षेत्रको गौरव बढाउने वार्षीक २० करोड ५० लाख युनिट विद्युत उत्पादन गर्ने लक्षका साथ कावेली ‘ए’ निर्माण सुरु हँुदा यसले आफूहरुलाई खुसी बनाएको स्थानीय परियोजना सरोकार समिति अध्यक्ष भुवानीप्रसाद लिङ्देनले बताए ।