काठमाडौं/प्रेमिका प्रयोग गरेर भक्तपुरका एक युवाले व्यापारीको अपहरण गरेका छन् । अपहरित व्यापारीबाट फिरौती लिएपछि प्रेमिकाको हत्या गरेर फरार भएका छन् । जसमा संलग्न अन्य दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भक्तपुर बागेश्वरीका प्रकाश लामिछानेको समूहले शनिबार मख्खनगल्तीमा न्यू डालिज साडी र साडी संसार पसल सञ्चालन गर्ने श्यामसुन्दर अग्रवाललाई अपहरण गरेको थियो । अपहरणमा राधिका श्रेष्ठ, किशोर गिरी र सरोज घोरासैनेको संलग्नता रहेको प्रहरी बताउँछ । मुख्य योजनाकार लामिछाने रहेको प्रहरीको दाबी छ । उनकी प्रेमिका राधिका अपहरित अग्रवालको पसलमा काम गर्ने गरेको प्रहरीले बताएको छ । अग्रवालबाट १० लाख ७० हजार फिरौती लिएपछि छाडेको प्रहरी बताउँछ ।