भद्रपुर/आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा झापामा दुई सय ८३ मतदानस्थल तोकिएको छ । आठ नगरपालिका र सात गाउँपालिका भएको झापामा दुई सय ८३ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।

संविधानसभाको निर्वाचन २०७० सालमा झापामा दुई सय ८६ मतदान केन्द्र थिए । स्थानीय तह पुनःसंरचनाका आधारमा निर्वाचन केन्द्र तय गर्दा केन्द्र घटेको हो । जिल्लाका ७ वटा निर्वाचन क्षेत्रमा १५ स्थानीय तह कायम भएका छन् ।जिल्लामा पाँच लाख २१ हजार ८ सय जना गत फागुन ९ गतेसम्ममा मतदाताको नामावली दर्ता भएपनि मतदानको मितिसम्म १८ वर्ष उमेर नपुगेका मतदाताले मतदान गर्न नपाउने भएको हुँदा मतदान गर्न पाउनेको सङ्ख्या केही कम हुने निर्वाचन अधिकारी आचार्यले बताए ।

झापामा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा ४ लाख ५४ हजार ४ सय ७६ मतदाता थिए । तीन वर्षको अवधीमा करीब ६३ हजार पाँच सय ७६ मतदाता थपिएको उनको भनाइ छ ।

निर्वाचन आयोगले कुन नगरपालिका र गाउँपालिकामा कति मतदाता छन् भन्ने तथ्याङ्क भने चैत २० देखि २२ गतेभित्र मात्र जिल्लामा पठाउने आचार्यले जानकारी दिए ।

निर्वाचनको तयारीका लागि आयोगले जारी गरेको आचारसंहिता २०७३ का बारेमा राजनैतिक दलसहित सरोकारवाला निकायसँग छलफल सम्पन्न गरिसकेको छ भने मतदाता शिक्षा वैशाखबाट शुरु हुने उनले जनाए ।

जिल्लामा मौजुदा कर्मचारी तथा निर्वाचनका बखतमा आवश्यक जनशक्तिको विवरण र व्यवस्थापनमा समेत कार्यालयले कार्य जारी राखेको उनको भनाइ छ । निर्वाचन कार्यालयमा जिल्लामा क्रियाशील ३१ वटा राजनीतिक दल सूचीकृत भएको निर्वाचन कार्यालयले जनाएको छ ।