मोरङ/ मोरङमा माछा जोन कार्यक्रम शुरु भएको छ । कटहरी गाउँपालिकाको दर्बेशाका कृषकले समूह बनाएर माछापालन गर्ने पोखरी खनेर माछापालन शुरु गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोज यादवका अनुसार प्रधानमन्त्री माछा जोन परियोजना, इकाई कार्यालय, विराटनगरले पोखरी खन्न अनुदान दिन बताएपछि कृषकले पोखरी खन्न शुरु गरेका हुन् । दर्बेशामा १६ जना किसानले समूह बनाएर आफूहरूले धान लगाउँदै आएको खेतमा पोखरी खनेर माछापालन गर्न थालेको सो समूहका सदस्य रत्न आचार्यले बताए ।

प्रतिव्यक्ति १० हेक्टरको १६ पोखरी खन्ने काम भइरहेको उनको भनाइ छ । आचार्यले भने, ‘हामी सबैले कम्तीमा १० हेक्टरमा पोखरी खनेर व्यावसायिक माछापालन गर्ने योजनाका साथ काम भइरहेको छ ।’

जिल्ला कृषि विकास कार्यालय प्रमुख यादवले जिल्लामा पाँच सय हेक्टरमा व्यावसायिक माछापालन भइरहेको प्रधानमन्त्री माछा जोन कार्यक्रमअन्तर्गत थप पाँचसय हेक्टरमा माछापालन गर्ने योजनाअन्तर्गत काम भइरहेको बताए ।मोरङका माछापालक कृषकलाई गत वर्ष एक करोड ५० लाख रुपैयाँ अनुदान प्रदान गरिएको थियो ।

यो वर्ष पनि जिल्ला कृषि विकास कार्यालयबाट एक करोड ५० लाख रुपैयाँ विभिन्न अनुदान दिने कार्यक्रम रहेको कार्यालय प्रमुख यादवले बताए ।