काँकडभिट्टा/ भारतबाट मेची भन्सारको गेट हुँदै नेपालतर्फ हजारौं रुपैयाँ बराबरको अवैध रजनीगन्धा भित्रिने गरेको छ ।

यसै क्रममा बुधबार भारतीय मोटरसाइकलमा राखेर अवैधरूपमा भित्रिएको रजनीगन्धा सशस्त्र प्रहरीले बरामद गरेको छ ।भारतीय नम्बर बी.आर. ०७ भी ५९०२ नम्बरको मोटरसाइकल र रजनीगन्धा धुलाबारीबाट समातिएको छ ।

भारतीय मोटरसाइकलधनी फरार भएका छन् । गोप्य सूचनाको आधारमा अवैध रजनीगन्धा धुलाबारीबाट समातिएको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाका डिएसपी वासुदेव लोहनीले बताए ।

करीब ३० हजार मूल्य बराबरको रजनीगन्धा र १ लाख ३० हजार मूल्य पर्ने मोटरसाइकल बुधबारनै मेची भन्सार कार्यालयमा बुझाइएको लोहनीले बताए । गुट्का राजनीगन्धा नेपालमा उत्पादन नभएपनि नेपालका सबैजसो बजारमा छ्यापछ्यापी पाइन्छ ।

पूर्वको सन्दर्भमा मेची भन्सार कार्यालय तथा सो अन्तर्गतको छोटी भन्सार कार्यालयहरुबाट रजनीगन्धा लगायतका गुट्काहरु भन्सार तिरेर आयात भएको पाइएको छैन । भन्सारै नतिरिएका यस्ता बस्तु बजारमा तस्करहरुले लुकाइछिपाई ल्याउने गरेका छन् ।