काठमाडौं/बिहेमा जन्ती जाँदा दुलाहाले घोडा वा बग्गी चढेको त सबैलाई थाहा छ । तर कोही मान्छे चाहिँ आफ्नो विवाहलाई यादगार बनाउन नयाँ नयाँ तरिका अपनाउँछन् ।
यहाँ हामी पाकिस्तानमा हालै भएको एउटा बिहेको बारेमा कुरा गर्दैछौं । एउटा दुलाहा दुलहीको घरमा सिंह चढेर पुगेको थियो । मुल्तानमा भएको बिहेमा सिंहलाई ठूलो पिँजडामा राखेर पिँजडामाथि कुर्सी राखेर दुलाहा बसेको थियो ।
दुलाहाको नाम शेख इरफान हो । पहिला त सिंहमा चढेरै जाने सोच दुलाहाका घरका मान्छेले बनाएका थिए । तर दुलाहा साह्रै डराएपछि पिँजरामा सिंह राखेर उनी त्यहाँ पुगेका थिए ।
यस्तो अनौठो दृश्य देखेपछि ठूलो भीड जम्मा भयो । अनि मिडियाको ध्यान पनि यसले राम्रै खिँच्यो ।
शेख इरफानको बिहे पनि शाही ठाँटबाटका साथ सम्पन्न भयो । बिहेमा करीब १५ हजार पाहुना आएका थिए ।
दुलाहाले कालो रंगको शेरवानी लगाएका थिए । जन्तीहरूले रुपैयाँ पनि खुबै उडाए ।