धरान/धरान–१५ गणतन्त्र बस्तीका एकयुवामाथि एक समूहले छुरा प्रहार गरी हत्या गरेको छ । शनिबार बिहान करिव ११ बजेतिर धरान–१५ कै ५ जना युवाहरुले सोही स्थानका २६ वर्षीय भक्त राईलाई छुरा प्रहार गरी हत्या गरेको हो । शुक्रराज राईको समूहले हत्या गरेको प्रहरीले बताएको छ । भक्तलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा ल्याउने क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टका सई तिलक गिरीले बताए । उनका अनुसार शुक्रको दाया हातको बुढी औलामा काटेको छ । उनी पनि उपचारमा आउने क्रममा पक्राउ गरिएको छ । त्यस्तै हत्यामा संलग्न हुक्के तामाङ, राजन विक, राजु राई, बिक्रम परियार फरार रहेका छन् । उनीहरुको पनि खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । युवाहरुले भक्तको घरमै पुगेर छुरी हानेका थिए । इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र पराजुलीका अनुसार ११ बजेको समयतिर साईकलमा बेच्न बरफ ल्याएको खाने क्रममा केही व्यक्तिले पैसा नतिरी खान लागेको र पैसा तिरेर मात्र खानु पर्दछ भन्ने विषयमा कुरा उठेको थियो । यही विषयमा विवाद भए पछि राईलाई घरमै पुगी छुरी हानिएको प्रहरीले जनाएको छ । घट्नामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ । हत्यामा संलग्नलाई पक्राउ गर्न धरान मातहतका प्रहरी पोष्टमा खवर गरि सुरक्षाकर्मी वरिचालन गरिएको इप्रका धरानले जानकारी दिएको छ ।