भद्रपुर/ झापाको सदरमुकामहुदै दक्षिणी गाउपालिका जोडने बहुप्रतिक्षती सडक खण्ड निर्माण कार्य सुरु भएपनि योजना कार्यालय र सम्बन्धी निर्माण कम्पनीका कर्मचारीले लापरबाही ढंगले काम गरिरहेको भन्दै सहभागीले आरोप लगाएका छन् ।
निर्माणाधिन अवस्थामा रहेको झापाको चाराआली–केचना सडकमा देखिएका समस्या र कार्य योजनाका बारेमा झापा उद्योग संघ भद्रपुरले शुक्रवार आयोजना गरेको नगरस्तरीय छलफलमा अधिकांशले सम्बन्धित पक्षमाथी दबाव दिएका हुन् ।
हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दास र निर्माण कम्पनी कालिका, कनकाई र याकथुमहाङ्ग जेभीका इन्जिनियर प्रमिश वनेपालीलाई सरोकारवालाले गुनासो पोखेका थिए ।
हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका प्रमुख शैलेन्द्र त्रिपाठी र निर्माण कम्पनीका ठेकेदार तेजकुमार कुरुङ्गवाङ्गको सहभागी नदेखिएकोले कार्यक्रममा इन्जिनियरद्धय साह र नेपाली माथि आक्रोस पोखेका थिए । ठेक्का स्वीकृति भएको झण्डै चार महिना पश्चात स्थानीयबासीको दवावमा निर्माण कार्य सुचारु भएपनि निर्माण कम्पनीले स्काभेटर प्रयोग गरेर मापदण्ड विपरित नाला खन्दै सडकको दुवै पट्टी माटो भरेको , कल्भर्ट निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको, निर्माण कार्य ढिलासुस्ती भएको, नाला खन्ने माटोले सडक धुम्लाम्य बनाएको र बर्खामा खनिएको नालामा दुर्घटना हुन सक्ने लगायतको बारेमा नगरबासीले गुनासा राखेका थिए ।
झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालको अध्यक्षमा भएको छलफलमा नगरबासीबाट उठेको समस्या सहितको गुनासालाई झापाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी हुदै सम्बन्धीत सडक कार्यालय समक्ष पुर्याएर समस्याको समाधान गरिने अध्यक्ष ढकालले बताए ।
करिब ६ महिना अघि भौतिक पुर्वाधार तथा यातायता मन्त्री रमेश लेखकले चारआली– केचना सडक कालो पत्रे निर्धारित समयभित्र अवश्य बन्ने ठोकुवा गरेका थिए । पटक पटक शिलान्यास हुने तर उद्घाटन नभएको स्मरण गराउदै यो अन्तिम शिलान्यास भएको समेत बताएका थिए ।
समय सिमा भित्र ठेकदारले कार्य सम्पन्न नगरेमा कानुनले व्यवस्था गरेअनुसार कडा कारवाही गरिने आशवासन उनले दिएका थिए । उत्तर दक्षिण चारआली केचना पहिलो खण्डमा सोमवारे सम्म २० किलोमिटर ठेक्का सम्झौता भएको छ । कालिका–कनकाई–याकथुम्हाङ् जे.भि काठमाण्डौले भ्याट रकमसहित ४१ करोड ६१ लाख ८४ हजार १ सय ४२ रुपैयामा तिस महिनाभित्र सम्पन्न हुने गरी सम्झौता भएको छ । सडक निर्माणको लागी ७२ साउन २३ मा ठेक्का आब्हन भई ७३ असोज १४ मा ठेक्का सम्झौता भएको थियो । सडकको कालोपत्रे चौडाई ७ मिटर रहने छ । दुवै सडकको चौडाई साढे ५ मिटर रहने छ । दुवै सडक हुलाकी राजमार्ग अन्तरगत रहेका छन् ।