धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् १९९३ मा हाउस अफिसरबाट सेवा शुरु गरेका प्रा.डा. राजकुमार रौनियार स्वास्थ्य क्षेत्रमा कुनै नौलो नाम होइन । हाउस अफिसर हुँदै सहप्राध्यापक र प्राध्यापकका रूपमा काम गरेका उनले लामो समय प्रतिष्ठानको रेडियोलोजी विभागका प्रमुख भएर काम गरे । उनले रेडियोलोजी क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पाएका छन् । उनको योगदान र कार्यक्षमताको मूल्याङ्कन गर्दै हालै स्वास्थ्यमन्त्रीको सिफारिसमा प्रतिष्ठानका कुलपति तथा सरकारका प्रधानमन्त्रीद्वारा उनले प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति पाएका छन् । प्रस्तुत छ उनका कार्ययोजना र प्रतिष्ठानको सुधार गर्न अख्तियार गरेको नीतिबारे उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

भर्खरै उपकुलपतिमा नियुक्ति पाउनुभएको छ । अब कसरी अगाडि बढ्नुहुन्छ ? नेपाल सरकारका प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले प्रतिष्ठानको उपकुलपतिजस्तो पदमा रहेर सेवा गर्ने अवसर दिनुभएको छ । यसलाई मैले अवसरका रूपमा लिएको छु । मेरो कार्यकालको मुख्य प्राथमिकता भनेको अस्पतालको सेवा विस्तार नै हो । आईसीयुमा बेड खाली नभएर अन्यत्र लैजाँदालैजाँदै बिरामीले ज्यान गुमाउनु नपरोस्, व्यथा लागेकी महिलाले प्रसुती विभागमा बेड अभावले छट्पटिन नपरोस्, डायलाइसिसको अभावमा कुनै पनि बिरामीले मृत्युवरण गर्न नपरोस् । यिनै विषयमा मलाई बढी चिन्ता छ । यी समस्या हटाउन सम्बन्धित विभागसँग परामर्श गरेर निर्देशन पनि दिइसकेको छु । त्यससँगै गुणस्तीय शिक्षा र विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट अनुसन्धानको थलो बनाउने मेरो मुख्य ध्येय हो । यहाँ आउने बिरामीलाई छिमेकी मुलुक भारत तथा राजधानी पठाउनु नपर्ने किसिमले सबै विशेषज्ञ सेवा यहाँबाट अब प्रदान हुने छ । यो मेरो अठोट हो ।

तपाईंका यी महत्वाकाङ्क्षी योजना कार्यान्वयनमा चुनौती पनि छन् नि ? अब यहाँको शैक्षिक तथा प्रशासनिक काम कसरी अगाडि बढ्छ ? दुई महिना प्रतिष्ठान उपकुलपतिविहीन हुँदा केही कठिनाइ भएका छन् । ठूला योजनाका निर्णयहरू कार्यन्वयन हुन सकेका थिएनन् । अब सबै समस्या हल भएर जाने छन् । मैले भनेका समस्या समाधान गर्न मलाई लाग्छ कुनै चुनौती छैन । प्रशासनको साथ र सहयोगमा सबै समस्याको समाधान क्रमिक रूपमा हुनेछन् ।

तपाईंको कार्यकालमा कर्मचारी–चिकित्सकहरूबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ? निश्चय नै, सबै कुरा ठीक, दुरुस्त तथा प्रतिष्ठानलाई स्तरीय बनाउन सबैभन्दा ठूलो हात यहाँ सधैँ खटिरहने चिकित्सक तथा कर्मचारीहरूकै हुन्छ । सबै थोक उहाँहरू नै हो । मैले त समन्वय र सहजीकरण मात्र गरिदिने हो । चार सय बेडको मातृशिशु स्याहार केन्द्र निर्माणाधीन अवस्थामा छ । सरकारको स्वीकृत परियोजनाअन्तर्गत कार्डियोलोजी र अङ्कोलोजी सेवा विस्तारको कार्यक्रम छ । यसलाई तीन वर्षभित्र पूरा गर्न सरकारसँग समन्वय गरिरहेको छ । चिकित्सक–कर्मचारीहरूसँग पनि निरन्तर छलफल गरिरहेको छु । उहाँहरू पनि उत्साही हुनुहुन्छ । उहाँहरूसँग समन्वय र छलफल निरन्तर रहने छ । सरकारी बजेट, अन्तर्राष्ट्रिय सहयोग र अनुदानका लागि मेरो पहल हुने छ । ठूलो त्याग गरेर अन्यत्र प्राक्टिस नगरी यहाँ सेवारत् चिकित्सक तथा कर्मचारीहरूका लागि क्षमता र योग्यताका आधारमा उचित अवसर सिर्जना गर्ने छु । यो मेरो दायित्व पनि हो । यसअघि रेडियोलोजी विभागको प्रमुख हुँदा पनि सबैको सहयोग पाएको थिएँ । अबका दिनमा पनि सबैको साथ र सहयोगमा प्रतिष्ठानलाई उत्कृष्ट उपचार केन्द्र तथा शिक्षालय बनाउन सकिन्छ भन्ने पूर्ण विश्वास लिएको छु ।

निर्माणाधीन मातृशिशु स्याहार केन्द्र कहिलेसम्म पूरा होला त ? जतिसक्दो चाँडो बनाउँछौँ । तीनवर्षे योजना हो । एक वर्ष बितिसकेको छ । कुनै बाधा–अवरोध नहोस् भनेर सरकारसँग समन्वय गर्ने काम पनि भइरहेको छ । यो बन्नेबित्तिकै प्रसुती तथा बच्चा विभागमा हुने समस्या हटेर जाने छ । यसका साथै कार्डियोलोजी र अङ्कोलोजी केन्द्र पनि एक वर्षभित्रै शुरु गरिसक्ने छौँ ।

प्रतिष्ठानमा उपचारमा ढिलासुस्ती हुने, चिकित्सकहरूले बेवास्ता गर्ने गरेको गुनासो सर्वसाधारणले गर्ने गरेका छन् । यसमा कसरी सुधार गर्नुहुन्छ ? जहाँसम्म ढिलासुस्ती र बेवास्ताको कुरा छ, मलाई त्यस्तो लाग्दैन । क्षमता कम, बिरामीको चाप बढी भएका कारण उपचारमा केही समस्या आएको पक्कै हो । यो प्रतिष्ठानमा स्थापनाकालदेखि काम गर्दै आएकाले यहाँका समस्या मैले राम्ररी बुझेको छु । जनगुनासोको सुनुवाइ अवश्य गर्नेछौँ । बिरामीको चाप घटाउनेबित्तिकै सबै सामान्य हुन्छ । त्यसका लागि प्रतिष्ठानको नाममा धरानस्थित छाताचोकमा रहेको जग्गामा एक्सटेन्सन सेवा चाँडै विस्तार गर्दैछौँ । प्रतिष्ठानमा आउने बिरामीको पहिले त्यहाँ उपचार हुन्छ । सामान्य बिरामी त्यहीँ निको भएर घर फर्कन्छ । जटिल बिरामी मात्र यहाँ रेफर गरिन्छ । सामान्य बिरामी त्यहाँ रोकिएपछि भीड र जनगुनासो आफै हराएर जाने छ । जटिल रोगका बिरामीले सहज रूपमा प्रतिष्ठानका सेवा पाउने छन् । आकस्मिक कक्षको भीड कम गर्न तत्काल थप ४० बेड व्यवस्था गर्न सम्बन्धित विभागलाई निर्देशन दिइसकेको छु । आईसीयुमा पनि समस्या छ । १० वटा मात्र बेड छ । त्यो पर्याप्त होइन । तत्काल २० वटा बेड थपिने छ । १५ वटा डायलाइसिस थप्ने प्रक्रिया पनि शुरु भइसकेको छ । मलाई लाग्छ– यति भएपछि सर्वसाधारणको गुनासो गर्ने ठाउँ रहन्न । डाइनामिक सोच लिएर अगाडि बढेको छु । कुनै पनि बिरामीलाई इलाज नभएर अन्यत्र रेफर गर्नु नपरोस् भनेर निरन्तर लागिपर्ने छु ।

तपाईंका अन्य प्राथमिकता के–के छन् ? धेरै काम गर्न आवश्यक छ । मेरो कार्यकालमा मेरा अन्य प्राथमिकतामा प्लाष्टिक जर्सरी, युरो सर्जरी, नेफ्रोलोजी, किड्नी, कलेजो ट्रान्सप्लान्टलगायतका सुपर स्पेसियालिटी सेवा विस्तार छन् । एक वर्षभित्र यी सेवा सञ्चालन हुने यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु । त्यसपछि यहाँ आएका बिरामीले निराश भएर अन्यत्र जानुपर्ने छैन । यहाँको प्रशासन पनि पुरानो संरचनामा छ । पुनःसंरचना गर्नु जरुरी छ । अबको जमाना डिजिटलाइज्ड जमाना छ । हाम्रो प्रशासनलाई पनि डिजिटल प्रशासन बनाउनुपर्छ । त्यसतिर पनि मेरो ध्यान जाने छ ।

तपाईंले सरकारलाई बुझाएको पाँचवर्षे कार्ययोजनामा कुन–कुन विषय समेटिएका थिए ? धेरै कुरा त मैले माथि उल्लेख गरिसकेँ । मेरो कार्ययोजनाका मुख्य कुरा सरकारले सञ्चालन गरेका सबै कार्यक्रम तीन महिनाभित्र प्रतिष्ठानमा सुचारु गर्ने । डट कार्यक्रम, महिला, बालबालिका, विपन्न वर्गका लागि सरकारले सञ्चालन गरेको निःशुल्क कार्यक्रम तत्काल लागू गर्ने । अत्यावश्यक सेवा विस्तार गर्ने, छाताचोकमा एक्सटेन्सन सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन, गुणस्तरीय शिक्षा, विपन्न नेपालीका लागि सीट सङ्ख्यामा वृद्धि, जिल्ला अस्पतालमा सुधार, पहाडी भेगमा प्रतिष्ठानका सेवा विस्तार, टेलिरेडियो, टेलिनेटवर्कमार्फत् दुरजराजका सेवाग्राहीलाई सेवा दिने जस्ता कुरा समेटिएका छन् । चुस्तदुरुस्त प्रशासनिक सेवा पनि मेरो प्राथमिकता हो ।

सर्वसाधारणलाई के भन्न चाहनुहुन्छ ? बीपी प्रतिष्ठानलाई विश्वास गरिदिनुहोस् । प्रतिष्ठानबारे गलत प्रचार भएको हुनसक्छ । हामीले के गर्व गर्न सक्छौँ भने विश्वका अस्पतालसँग तुलना गर्न सकिने स्वास्थ्य सेवा तथा शैक्षिक सेवा यहाँबाट प्रदान गरिँदै आएको छ । विश्वमा नभएको अनुसन्धान तथा आविष्कार यहाँका चिकित्सकहरूले गरेका छन् । जस्तोसुकै बिरामीको उपचार यहाँ हुने गरेको छ । उपकरणहरू अत्याधुनिक छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका चिकित्सकहरू छन् । उपचार र स्वास्थ्य शिक्षामा प्रतिष्ठान कहिल्यै कमजोर हुँदैन भन्ने विश्वास दिलाउन चाहन्छु ।