जीविकोपार्जनका लागि नै संगीत क्षेत्रमा लाग्नेको अहिले कमी छैन, कतिपयले संगीत गायनको कमाइबाटै मनग्य कमाएका छन् भने कतिपय हातमुख जोर्न नसकेर यो क्षेत्रबाटै पलायन भएका छन् तर युवा गायक प्रकाश पौडेलको पाटो भने आम गायक/गायिकाभन्दा भिन्न छ । करिब दुई दशकदेखि गायनमा सक्रिय पौडेलले भने संगीत क्षेत्रबा६ कमाएको सबै समाजसेवामा खर्च गरिरहेका छन् ।

जिउन र सोखले गायनक्षेत्रमा लाग्नेहरुका लागि अनौठा पात्र उनी समाजमा अपहेलित, दुःखमा रहेका र अभिभावकविहीनको सुरक्षा र पेट भरिदिन निरन्तर गायनमा सक्रिय छन् । अहिले खाडीमुलुक युएइमा सिद्धार्थ बैंकको रेमिटेन्स प्रमुख रहेका उनी फेरि नयाँ शैलीको भजन, पपगीत लिएर बजारमा आउँदैछन् । नाइँ मलाई त्यही केटी चाहिन्छ लगायतका दर्जनौ हिट गीत गाइसकेका पौडेल बिदा मनाउन नेपाल आएका बेला गरिएको कुराकानीको सारः

तपाईको नयाँ गीत जय श्रीराम भजन पप औपचारिकरुपमा सार्वजनिक हुनुअगावै चर्चामा छ, किन र के छ नयाँ गीतमा ? –युवापुस्ता भजनबाट दिनानु दिन टाढिँदै गएको समयमा भजनसँग नयाँ पुस्तालाई जोड्न भजन पपको प्रयोग गर्ने उद्धेश्यले नयाँ गीत तयार पारिएकाले पनि सार्वजनिक हुनुअगावै चर्चा अनि कौतुहलता बढेको होला भन्ने मेरो बुझाइ हो ।

कहिले रोएर कहिले हासेर त कहिले के गरेर तपाई हरेक पटक नयाँ प्रयोग गर्न माहिर मानिनु हुन्छ किन र के उद्धेश्यले तपाई नयाँ प्रयोग गरिराख्नुभएको छ ? –जीवन नै हरेक पल नयाँ हुन्छ, हरेक मान्छे केही न केही नयाँ गर्न चाहन्छ । जुन कुरा आम मान्छेमा हुने मानवीय गुण हो । कतिले नयाँ गर्न सक्छन् त कतिले गर्न नसकेर अरुले गरेको प्रयोग पछ्याउँछन् तर म पहिलेबाटै केही न केही नयाँ गर्नेमा पर्छु । त्यही भएर न मलाई प्रकाश पौडेल भनेर आजसम्म श्रोताले माया गरिराख्या’छन् । हरेक पटक नयाँ प्रयोग गर्नु र नयाँ शैलीमा गीत पस्किनु नै मेरो पहिचान हो ।

बिदामा आएको समयमा अरु कुनै गीत रेकर्ड गर्ने या गाउने कुनै योजना छ कि ? –अहिलेसम्म मैले कहिल्यै योजना र तयारी गरेर गीत लेख्ने या गाउने गरेको छैन । जब दिमागमा केही नयाँ आउँछ, त्यो बेला म गाइहाल्छु र रेकर्ड पनि गर्छु तर योपटक बिदामा आएको बेला अहिले तपाईसँग कुरा गरिरहेको बेलासम्म मेरो दिमागमा कुनै नयाँ सिर्जनाले घर गरेको छैन र हातमा पनि कसैको राम्रो अनि नयाँ रचना पनि परेको छैन ।

देशमा केही गर्न नसकेपछि मान्छे विदेशिन्छ भनिन्छ तपाई चाहि किन जानुभएको ? – म नेपालमा जीविकोपार्जन गर्न नसकेर विदेशिनेमा पर्दिन । गायनबाट नै राम्रो कमाइ गरेकै थिएँ तर आफू रोजगारीमा रहेको बैंकले नै पठाएपछि विदेशिन बाध्य भइयो तर अब छिट्टै नेपाल फर्किने तयारीमा छु । केही नयाँ उद्धेश्य बोकेर ।

के नया गर्ने योजनामा हुनुहुन्छ बताइदिनुस् न ? – अहिले नै मैले भनेँ भने त्यो त नयाँ भएन नि, पुरानो भइगयो नि त । नयाँ त त्यहीबेला हुन्छ, जतिबेला म त्यो काम सुरु गर्छु हैन र ?

गायन र संगीत क्षेत्रमा आउनेहरु ह्वात्तै बढेका छन् बाढी नै आएको छ तर टिकाउ हुनेहरुको कमी छ किन होला ? – धेरै रहरले यो क्षेत्रको विषयमा सामान्य ज्ञानसमेत हासिल नगरी आउँछन्, जसका कारण गुणस्तर र बजारीकरणमा नेपाली संगीत क्षेत्र पछाडि परेको तथा छिमेकी मुलुकको संगीतको मारमा परेको पनि मेरो बुझाइ अथवा ठम्याइ हो ।

भारतीय गीत संगीतको चेपुवामा नेपाली गीत संगीत परेकै हो त ? – निश्चय नै, थोरबहुत चेपुवामा परेकै छौं हामी । नेपाली गीत संगीत र स्रष्टाको संरक्षण र सम्बद्र्धन हुने सरकारी नीतिको अभाव एउटा मुख्य पाटो हो भने स्तरीयता र नयाँपन दिन नसक्नु अर्को पाटो हो । यी दुवै पाटोमा अहिले नै अग्रज र हाम्रो पुस्ता गम्भीर नबन्ने हो भने त्यसले भविष्यमा तपाई हाम्रासामु अस्तित्वरक्षाको विषयले प्रताडित बनाउनेछ ।

श्रोताको चाहि कुनै भूमिका नै छैन त ? – मेरो भनाइको मतलव स्रोताको भूमिका नै हुन्न भन्ने हैन तर श्रोता जहिले पनि नयाँ अनि फरक स्वाद चाहन्छ तर पनि नेपाली भएका हिसाबले नेपाली गीत संगीत र कलाकारलाई भने माया गर्न सक्नुपर्छ । आफ्नो भनेको आफ्नो हो, जुन कुरा आम नेपालीको मन र मस्तिष्कमा बस्न जरुरी छ  ।

तपाईको नया गीत भजन पप कहिलेबाट बजारमा आउछ या श्रोताले हेर्न र सुन्न सक्छन् ? – यही साताभित्रै नेपाली टेलिभिजन च्यानलहरु र एफएम स्टेशनहरुबाट एकैसाथ सार्वजनिक हुनेछ । मलाई विश्वास छ आम नेपालीले एकपटक फेरि पनि प्रकाश पौडेललाई माया दिनुहुने छ र हौसला प्रदान गरिदिनुहुनेछ ।

यो गीतबाट हुने आम्दानी र कमाइ कहा अनि के मा लगानी गर्दै हुनुहुन्छ त्यो पनि बताइदिनुु न ? –यो गीतबाट भएको पूरै आम्दानी सडक बालबालिकाको शिक्षामा खर्च गर्नेछु । म सिधै खर्च गर्न त सक्दिन तर त्यो क्षेत्रमा सक्रिय कुनै सामाजिक संस्थाका माध्यमबाट परोपकारका काममा खर्च गर्नेछु ।