पूर्वबाट जनवादी गीत पस्किने पुरानोे सांगीतिक समूहका अध्यक्ष हर्क चुम्मेसँगको अन्तरंग 

हिमायती सांस्कृतिक परिवारको स्थापना कहिले भएको हो ? करिब तीनदशक पहिलेबाट यो परिवारको जन्म भयो । स्थानीय कलाकार शिव सुब्बा, किशोर श्रेष्ठ, विष्णा सुब्बा, कुन्ती योञ्जनलगायतका कलाकारहरुको जमघट हुने थलो पछि समूह बन्यो । यसले विशुद्ध संस्कृतिलाई बचाउने संगीतको उत्पादन गर्दै आइरहेको छ । पहिलेको समयमा जनवादी गीत गाउने समूह भनेर पनि चिनिन्थ्यो ।

दुई दशकपछि पुनरागमन भएको हिमायतीमा कस्तो परिवर्तन आएको छ ? अहिलेको संगीतमा मात्र मनोरञ्जन हुन्छ । चेतना र सन्देशमूलक संगीतको अभाव छ । चेतना, सन्देश र मनोरञ्जनलाई ध्यानमा राखेर संगीत पस्किनेछौँ । पहिले पनि यसरी नै संगीत दिएका थियौँ । परिवर्तन भनेको केही नयाँ कलाकारहरु थपिएका छन् ।

तपाईको भूमिकामा परिवर्तन आएको छैन, किन होला ? हजुर हो, मलाई आफैलाई पनि लाज लाग्छ, समूहको अध्यक्ष भन्न । हस्तान्तरण गर्न खोजेको पनि हो । तर सबैले यो जिम्मा अझै पनि मलाई नै सुम्पिदिएका छन् । खुसी छु जिम्मेवारी पाएकोमा ।

समूहले बजारमा आजसम्म कतिवटा गीत ल्याएको छ ? दुईवटा एल्बम् वाध्यताको सुसेली १ र २ क्रमशः २०४७ साल र २०५२ सालमा बजारमा ल्याएका थियौँ । सम्झेर किन मान्छेले भाग्य बुझेर हिँड्दछन्, खोकु छिन्ताङ, अन्तिम हुँदैन कहिले, फिरेन सुदिन जस्ता १५ भन्दा बढी हिट गीतहरु दिन सफल भएका छौँ ।

अबका योजनाहरु के के छन् ? गीत संगीत उत्पादन त भै हाल्यो । स्थानीय सहिद दिवसको अवसरमा कार्तिक २९ गते हिमायतीको तर्फबाट आर्थिक सहयोग गरेका थियौँ।संगीतकार एवं गायक रामेश श्रेष्ठको जीवनमा आधारित डकुमेण्ट्री धरानमा प्रदर्शन गर्ने योजनामा छौँ । हामी हाम्रै डकुमेण्ट्री बनाउने तयारीमा लागिपरिरहेका छाैँ । योजना धरै छन् समयले साथ दिएसम्म निरन्तर लागिरहनेछौँ ।

हिमायतीले सबै परिवारका सदस्यलाई समान व्यवहार गर्न नसकेको भन्ने आरोप छ नि  ? हिमायती सबैको हो, एक व्यक्तिको मात्र होइन । हिमायती मेरो हो भनेर सोच्नेका लागि सधैँ परिवार मान्न तयार छौँ । त्यस्तो असमान व्यवहार कसैलाई भएको छैन, कसैसँग चित्त दुखाइ भए समझदारीमा अगाडि बढ्न सक्छौँ ।

हिमायतीलाई चलायमान गराउन तपाईले केसम्म गर्नुभयो जुन कुरा तपाईले आजसम्म बिर्सनुभएको छैन ? पहिलो एल्बम् निकाल्ने हिमायतीसँग त्यो समयमा पैसा थिएन । मैले मेरो एकतोला सुन बेचेर एल्बम् निकालेको थिएँ । त्यो समयमा पैसा फर्केर आउला भन्ने आशा थियो तर अहिले त्यसको कुनै आशा छैन ।