काठमाडौं/ यातायात व्यवस्था विभागमा अख्तियार दुरुपयोग अनुसन्धान विभागले छापा मारेको छ ।

बिहीवार आयोगको टोलीले कार्यालयमा छापा मारी एक अधिकृतलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ ।

यातायात व्यवस्था विभाग मिनभवन, काठमाण्डौंका शाखा अधिकृत अर्जुन प्रसाद रिजाललाई २५ हजार रुपैयाँ घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

यातायातका शाखा अधिकृत अर्जुन प्रसाद रिजालले महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले घुससहित पक्राउ गरेको हो ।

घुस रकम लिंदै गर्दाको अवस्थामा निजको कार्यालय परिषर भित्रैबाट घुस रकम सहित नियन्त्रणमा लिएको हो । यससम्बन्धमा अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।