विराटनगर/ पूर्वी नेपालका १४ जिल्लामा बुधबार स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन भइरहेको छ । १ नम्बर प्रदेश अन्तर्गत पर्ने १४ जिल्लाका ५९ क्याम्पसमध्ये ४२ क्याम्पसमा विहान ९ बजेबाट मतदान शुरु भएको हो ।

बिभिन्न १७ वटा क्याम्पसमा भने स्ववियु निर्वाचन हुन सकेको छैन । पूर्वाञ्चलकै ठूलो क्याम्पस मानिने महेन्द्र मोरङ, स्नातकोत्तर क्याम्पस विराटनगर र कोशी नर्सिङ क्याम्पसमा भने मधेसी मोर्चा आबद्ध विद्यार्थीहरुको तालाबन्दीका कारण चुनाव हुन सकेको छैन ।

अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य भाष्कर खनालका अनुसार विद्यार्थी संगठनहरुबीच सहमति हुन नसक्दा निर्वाचन रोकिन पुगेको हो । केही क्याम्पसमा भने केहिदिन पनि निर्वाचन गर्ने तयारी छ ।

झापाका ९ मध्ये ७ क्याम्पसमा निर्वाचन भइरहेको छ । इलाममा सामुदायिक क्याम्पसमा सहमतिमा नेतृत्व चयन हुने भनिए पनि २ वटै आंगीक क्याम्पसमा निर्वाचन हुन सकेन । ताप्लेजुङका दुईवटै क्याम्पसमा निर्वाचन भइरहेको छ । यस्तै तेह्रथुमका तीनवटै र पाँचथरका ३ मध्ये २ वटा क्याम्पसमा निर्वाचन भइरहेको छ ।

यस्तै मोरङका ११ मध्ये ४ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ भने एउटा क्याम्पसमा २४ गते निर्वाचन हुने भएको छ । बाँकी ६ वटा क्याम्पसमा निर्वाचन रोकिएका छन् । जसमध्ये दुईवटा क्याम्पसमा पहिलोपटक हुन लागेको निर्वाचन पनि सहमति कायम हुन नसक्दा नहुने भएको हो ।

सुनसरीका ९ मध्ये ८ वटा क्याम्पसमा निर्वाचन भएका छन् । जसमध्ये एउटा क्याम्पसको परिणाम समेत आइसकेको छ । धनकुटाका चार मध्ये २, संखुवासभाका ३ मध्ये २ वटा क्याम्पसमा स्ववियु निर्वाचन भइरहेको छ । भोजपुरमा रहेको एउटा क्याम्पसमा भने निर्वाचन हुन सकेन ।

उदयपुरका तीन वटा, ओखलढुङ्गाका ४ वटा, खोटाङका २ वटा र सोलुखुम्बुका ३ वटै क्याम्पसमा स्ववियु निर्वाचन भइरहेको छ ।

उता खोटाङ बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुकी सन्तोषी फुयालको नेतृत्वमा सर्वसम्मत रुपमा स्ववियु निर्वाचन भएको छ । त्यस्तै खोटाङकै सिमपानी क्याम्पसमा रोशन पोखरेल नेतृत्वको अखिलको प्यानल बिजयी भएको छ ।