भक्तपुर/ वरिष्ठ हास्य कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको आज बिहान निधन भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका नकर्मीको आज बिहान निधन भएको हो । उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।

भक्तपुर नगरपालिका–६, इनाचोकका स्थायी बासिन्दा नकर्मी गत वर्षको भूकम्पले पुख्र्यौली घर भत्किएपछि वृद्धाश्रममा बस्दै आइरहेका थिए ।

अद्वितीय प्रतिभाका धनी रामशेखरले आफ्नो जीवनको छ दशक हास्यव्यङ्ग्य लेखनमा बिताएका थिए । छ दशकको कला यात्रामा उनले व्यङ्ग्य लेखन मात्र नगरी आफैँले लेखेका प्रहसनहरुको निर्देशनका साथै त्यसमा अभिनयसमेत गरे ।

विसं २०११–१२ सालदेखि कला क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि नेपाल भाषाका थुप्रै टेलिसिरियल, फिल्ममा अभिनय, लेखन तथा निर्देशन गरेका उनले कवि दुर्गालाल श्रेष्ठसँग संयुक्त रुपमा नेपालभाषाको फिल्म ‘राजमति’ को लेखनसमेत गरेका थिए ।

विसं २०११ मा उनले पहिलोपटक ‘समाज सुधार’ शीर्षककाे नेपाली नाटकमा अभिनय गरेका थिए । त्यसपछि उनले ‘साहसी महिला’ शीर्षककाे अर्को एउटा नेपाली नाटकमा अन्धो भिखारीको सानो भूमिकामा अभिनय गरेका थिए भने सो नाटकका लागि उनले ‘प्रभु लेऊ शरण म भिखारी’ बोलको यो गीत रचना गर्नुका साथै गाएकासमेत थिए ।

नेपाली भाषामा धेरै कथा लेखेका रामशेखर नकर्मीका कतिपय कथा नेपाली भाषामा अनुवाद भएका छन् भने ‘मत ख्याः’ कथा अङ्ग्रेजी र ‘नसंफाःगु चा’ जापानिज भाषामा समेत अनुवाद भएका छन् । ‘नसंफाःगु चा’ शीर्षककाे एउटै मात्र उपन्यास लेखेका रामशेखरले सो उपन्यासबाट दुई प्रतिष्ठित पुरस्कार ‘श्रेष्ठ सिरपा’ र ‘गंकी वसुन्धरा सिरपा’ प्राप्त गरे ।

नेपाल टेलिभिजनबाट प्रसारण भएको नेपाल भाषाको पहिलो टेलिफिल्म ‘१२ बजे’ का उनी लेखक एवम् अभिनेता थिए । उनले लेखन, निर्देशन, अभिनय गरेका पःखा (पर्खाल) चलचित्रले जापानमा भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘थर्ड फ्युचर अफ एसिया पुरस्कार’ पनि जित्न सफल भएको थियो ।

उनले मह जोडीको ‘१५ गते’ र ‘लक्ष्मी’ लगायत नवीन सुब्बाको बहुप्रशंसित टेलिसिरियल ‘दलन’ तथा ऐतिहासिक पृष्ठभूमिमा बनेको चलचित्र ‘वीर गणेशमान’ समेतमा अभिनय गरेका थिए । उनका चार छोरा र चार छोरी छन् ।