स्थानीय निर्वाचनको विरोधमा रहेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच रौतहटको सदरमुकाम गौरमा झडप भएको छ । एमाले नेता माधवकुमार नेपालले नेपाल प्रहरीको ब्यारेक फिल्डमा सम्बोधन गर्दैगर्दा नजिकै वीपी चोकमा प्रहरी र मोर्चाका कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो । आइतबार बिहान नेपाल गृह जिल्ला रौतहट आउने थाहा पाएपछि मोर्चाका कार्यकर्ता  विरोधमा उत्रिएका हुन । झडपमा परि मोर्चाका एक कार्यकर्ताको टाउकोमा चोट लागेको छ । समाचार संकलनका लागि गएका पत्रकार प्रभातकुमार झालाई समेत प्रहरीले लाठीचार्ज गरेको छ । झडप दिउँसोसम्म पनि जारी छ ।