इलाम/ त्रिभुवन विश्वविद्यालयले फागुन १८ गतेका लागि निर्धारण गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा स्थगीत भएको छ ।
स्ववियु निर्वाचन सञ्चालन गर्न असहज भएको भन्दैमहेन्द्र रन्त बहुमुखी क्याम्पसले सूचना टास गरेर निर्वाचन स्थिगीत गरेको हो । विद्यार्थी संगठनहरुका बीचमा विद्यार्थी भर्ना हुन पाउनुपर्ने, फर्जि विद्यार्थीको छानबीन गर्नुपर्ने, तोकिएकै मितिमा चुनाव गराउनु पर्ने र चुनाव स्थगीत गर्नुपर्ने लगायतका विषयमा मतभेद चुलीएपछि क्याम्पसमा तनाव सिर्जना भएको थियो । विद्यार्थी संगठनहरुबीच झडप हुने अवस्था आएपछि अनिश्चित कालका लागि निर्वाचनका कार्यक्रम रोकिएको छ ।
त्रिभुवन विश्वविद्यालयले तय गरेको कार्यतालिका अनुसार शनिबार मनोनयन दर्ता गर्नुपर्ने थियो । तर, वातावरण असहज भएपछि मनोनयन दर्ता हुन नसकेको निर्वाचन समितिका संयोजक केशबहादुर राईले जानकारी दिए । ‘शुक्रबार मनोनयन फर्म वितरण गरेर शनिबार पाँच बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने थियो तर, त्यो हुन सकेन ।निर्वाचन समिति संयोजक राईले भने–‘हामीले चुनाव गराउन नसक्ने जानकारी पटक पटक क्याम्पस प्रशासनलाई दिएका थियौ । मनोनयन नै दर्ता नभएपछि आइतबारका लागि तोकिएको नामावली प्रकाशन, मनोनयन फिर्ता अन्तिम नामावली प्रकाशन लगायतका चुनावी प्रक्रिया स्वत स्थगीत भएको छ ।
क्याम्पस प्रशासनले शुक्रबारनै चुनाव स्थगनको सूचना दिएपनि तोकिएकै मितिमा चुनाव गराउनु पर्ने पक्षमा रहेका विद्यार्थी संगठनको दवाब पछि पुनह निर्वाचन कार्यक्रम सञ्चालन गर्ने भनिएको थियो । आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन रोकिएपछि अब कहिले चुनाव हुन्छ भन्नेमा अन्योल छाएको छ । केही विद्यार्थी संगठनहरुले भने तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् । अनेरास्वबीयुका अध्यक्ष इश्वरी तामाङ्गले तोकिएकै मितिमा चुनाव हुनुपर्छ भन्ने पक्षमा आफुहरु रहेको बताए । ‘स्ववियु ठूलो संघर्षबाट प्राप्त भएको स्वतन्त्र संस्था हो, यसको जगेर्ना गर्न सवै लाग्नु पर्छ–उनले अघि भने–‘निर्धारित मितिमानै चुनाव गरेर स्ववियु गठन गर्नुपर्छ ।
अनेरास्वबीयु क्रान्तिकारीका शंदिभक्त शंकरले आफुहरु पनि तोकिएकै मितिमा स्वबीयु निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । क्याम्पस प्रशासनले चुनाव स्थगीत गरिसकेकाले सहमतिबाट नयाँ मिति घोषणा गर्नुपर्नेमा उनको जोड थियो । ‘प्रशासन चुनाव रोकेर चुप लागेर बस्नु भएन, चुनावको वाताबरण बनाउन पहल गर्नुपर्छ । उनले भने–‘विद्यार्थी संगठनहरुले पनि चुनावको वातावरण बनाउन सहयोग गर्नुपर्छ ।
नेविसंघका कार्यवाहक अध्यक्ष प्रकाश भट्टराईले सहमतिको आधारमा अर्को मिति घोषणा गर्नुपर्नेमा जोड दिए । ‘क्याम्पस प्रशासन, विद्यार्थी संगठन, निर्वाचन समिति बसेर सहमतिको आधारमा नयाँ मिति घोषणा गर्नुपर्छ भट्टराईले भने । स्ववियु निर्वाचनका लागि मरव क्याम्पसमा सात विद्यार्थी संगठन दर्ता भएका थिए ।