काठमाडौं/वरियताक्रम अनुसार नेपाल प्रहरीको आईजीपी नियुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुने भएको छ ।अधिवक्ता कपिलदेव भट्टले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
सो रिटमा आज आइतबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतका रजिष्ट्रार नृपध्वज निरौलाले जानकारी दिए । रिटमा वरिष्ठता, योग्यता र प्रचलित विधि–प्रक्रिया मिचेर प्रहरी प्रमुख नियुक्त गर्न नहुने उल्लेख छ । सरकारले सत्तासाझेदार दल काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको जोडबलमा तेस्रो वरियतामा रहेका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गर्ने तयारी गरेको भनिएको बेला सर्वोच्चमा रिट परेको हो ।
सरकारले आइतबार क्याबिनेट बैठकबाट नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेका समाचारहरू सार्वजनिक भएका छन् । अहिलेका आईजीपी उपेन्द्रकान्त अर्यालले २ गतेदेखि अवकाश पाउने भएसँगै अब चार डीआईजीमध्येबाट एकजना आईजीपी हुनेछन् ।
नेपाल प्रहरीको डीआईजीमा पहिलो नम्बरमा नवराज सिलवाल, दोस्रो नम्बरमा प्रकाश अर्याल, तेस्रो नम्बरमा चन्द र चौथो नम्बरमा बमबहादुर भण्डारी छन् ।वरियताअनुसार एक नम्बरमा रहेका सिलवाललाई पाखा लगाएर तेस्रो वरियताका चन्दलाई देउवाको जोडबलमा आईजीपी बनाउने तयारी गरेको विषय बाहिरिएसँगै रिट परेको हो ।