काठमाडौं/ हाडनाता प्रमाणित गर्ने एक मात्र प्रमाण मानिँदै आएको डीएननए परीक्षण अकाट्य प्रमाण हुन नसक्ने भन्दै सर्वोच्च अदालतले नाता प्रमाणितका लागि अन्य प्रमाण पनि जरुरी हुने फैसला गरेको छ । नाता र अंश विवाद जोडिएको एउटा मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले डीएनए नमिलेको प्रतिवेदन हुँदाहुँदै बाबु–छोरी प्रमाणित गरी अंश दिलाउने फैसला गरेको छ ।
जिल्ला हुँदै सर्वोच्चबाट समेत पुनरावलोकन भएको मुद्दामा न्यायाधीशत्रय दीपककुमार कार्की, केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको पूर्ण इजलासले गत ६ माघमा गरेको फैसलाको पूर्ण पाठ (विवरण) मा अन्य प्रमाणले नाता प्रमाणित भइरहेको अवस्था डीएनए परीक्षण गरिरहन उपयुक्त नहुने भनेको छ । काठमाडौं शान्तिनगरकी लक्ष्मी मिश्र (श्रेष्ठ) ले पति रवि मिश्रलगायतलाई विपक्षी बनाई दायर गरेको अंश र नाता मुद्दामा सर्वोच्च अदालतले दुईबीचको वैवाहिक समारोहका तस्बिर, साक्षी र पत्नी लक्ष्मीको बयान, विद्यालय, नागरिकतालगायतका कागजातमा खुलेको नातालगायतलाई प्रमाणका रूपमा ग्रहण गरी डीएनए परीक्षण नमिलेको अवस्थामा समेत लक्ष्मी र रविबाट जन्मिएको दाबी गरिएकी छोरीलाई ‘छोरी प्रमाणित’ गर्दै लक्ष्मीलाई अंश दिलाइदिने फैसला गरेको हो ।