काठमाडौँ/ संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये देवानीसंहिता पारित गरेको छ । ‘मुलुकी देवानी संहिता २०७३’ नाम रहने गरी समितिले विधेयक पारित गरेको हो । समितिबाट पारित विधेयक अब संसद्मा प्रतिवेदनसहित पेस हुनेछ । संसद्मा पेस भएको विधेयक छलफलपछि पारित हुनेछ । सरकारले पेस गरेको विधेयकमा सरोकारवाला पक्ष र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर परिमार्जन गरिएको छ । झण्डै एक वर्ष विधेयकमाथि सर्वपक्षीय दफावार छलफलपछि समितिले विधेयक पारित गरेको हो ।

समिति सचिव ध्रुवप्रसाद घिमिरेले देवानी संहिता समितिले पारित गरेको बताए । अन्य चारवटा विधेयक पनि पारित भएपछि समितिको प्रतिवेदनसहित एकैसाथ संसद्मा पेस हुने घिमिरेले बताए ।  संहिताले पारिवारिक कानुनमा सम्पत्ति, विवाह, सम्बन्धविच्छेदलगायत विषयका कानुन समेटेको छ । यस्तै सम्पत्तिमा इच्छापत्रसम्बन्धी नयाँ व्यवस्था कानुन प्रणालीमा थपिएको छ । समितिबाट पारित विधेयकमा मौजुदा पारिवारिक कानुनमा रहेको विवाहका लागि न्यूनतम उमेरको हद बढाइएको छ । विवाहको उमेरलाई २० वर्ष पु¥याइएको छ । संहिताको व्यवस्था पारित भएमा विधेयक प्रमाणीकरणको १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक कायम रहनेछैन । सम्पत्तिको मालिकले आफ्नो सम्पत्ति इच्छा गरेको व्यक्तिलाई दिन सक्नेछ । सम्पत्तिमा इच्छापत्र नेपालको कानुन प्रणालीमा नयाँ व्यवस्था हो । समितिबाट पारित संहिताले सम्बन्धविच्छेदमा महिला र पुरुष दुवैका लागि समान व्यवस्थाका लागि पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्धविच्छेद प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । धर्मपुत्र सम्बन्धमा संहिताले विस्तृत व्यवस्था गरेको छ ।