इटहरी/इटहरी ३ मा सुनसरी र मोरङ जिल्ला जोड्ने पुल निर्माण भएको छ । सेराहा र बुढी खोला संगममा निर्माण भएको झोलुङ्गे पुलको साँसद अशोक कोइरालाले उद्घाटन गरे ।

मंगलबार सो पुलको उद्घाटन गरिएको हो । मोरङको सुन्दरदुलारी– ५ फोकल्याण्ड टापू र इटहरी ३ को सिद्धार्थ टोललाई सो पुलले जोड्ने छ । स्थानीय विकास मन्त्रालय अन्तरगतको ७० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो पुल गत जेठ महिनादेखि निर्माण कार्य शूरु गरिएको निर्माण समितिका अध्यक्ष दलजित आङ्देम्बेले बताए ।

पुल निर्माण पछि सो क्षेत्रका मानिसलाई आवत जावत गर्न शिक्षा र स्वास्थ्य र दैनिक जीवन यापनमा सहज हुने छ । पुल उद्घाटन अवसरमा जिविस मोरङका प्रमुख एवम् राजनीतिक दलका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । पुल निर्माण समितिको सचिवमा भरतमणी राई, कोषाध्यक्ष आशा राइ रहेको ९ सदस्यी समिति रहेको थियो ।