धरान /विगत छ महिनादेखि लगातार मात्तिएको हात्तीले बस्तीमा पसेर धनजनको क्षति पु-याउन थालेपछि बर्दियामा हात्ती भगाउन डोजरको प्रयोग गर्न थालिएको छ । छ महिनायता बर्दियामा हात्तीको आक्रमणबाट पाँच जनाको ज्यान गइसकेको छ भने लाखौँ रुपियाँ बराबरको भौतिक क्षति भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्ज प्रमुख रमेशकुमार थापाका अनुसार हरेक दिन मात्तिएको हात्ती बस्तीमा पस्न थालेपछि हात्ती भगाउन डोजरको प्रयोग गर्न थालिएको हो ।
उनले भने , “पहिले–पहिले मानिसले आगोले तर्साउँदा, सिट्टी बजाउँदा पनि हात्ती भाग्ने गथ्र्याे तर हिजोआज ट्याक्टरले तर्साउँदा समेत हात्तीले बस्ती नछोड्ने भएपछि हात्ती प्रभावित गाउँ बस्तीमा डोजर तैनाथ गरिएको छ । अब त डोजरले धपाउँदा समेत नमान्ने भइसक्यो । ” जङ्गलमा चर्नुको सट्टा बस्तीमा पसेर धान, गहँु लगायत अन्नपात खान पल्केको हात्तीले घरेलु रक्सीसमेत खाने गरेको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले बताए । गाउँघरमा भएको ट्याक्टर, गाडीको सहायताले यसअघि हात्ती भगाउने गरेको भए पनि मात्तिएको हात्तीले ट्याक्टर र सानातिना गाडीको डर नमान्ने गरेको उनले बताए । मध्यवर्ती क्षेत्रका पाताभार, भोला, मनाउ, ठाकुरद्वारा, सूर्य पटुवाको पत्थरबोझी र डाँडागाउँ, शिवपुरको वनखेत, बालाती क्षेत्रको कर्मला र न्याउलापुर, रम्भापुर र वगनाहा क्षेत्रमा हात्तीले दिउँसै आतङ्क मच्चाउन थालेको छ भने ती बस्तीमा स्थानीय वासिन्दा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको निकुञ्जका प्रमुख थापाले जानकारी दिए ।