मेलम्ची/ विपद् जोखिम न्यूनीकरणका लागि अहिले मेलम्चीमा सचेतनामूलक सडक नाटक हुन थालेका छन् ।
मापदण्ड विपरित बनेका र निर्माण चरणमा रहेका भौतिक संरचनाले निम्त्याउन सक्ने क्षति र यसको न्यूनीकरण गर्नका लागि अपनाउनुपर्ने उपायका सम्बन्धमा सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाविसमा सरकारी तथा गैरसरकारी सामाजिक सङ्घसंस्थाले अहिले सडक नाटकमार्फत सचेतना ल्याउने अभियानमा जुटेका छन् । भौतिक संरचना निर्माण गर्दा ‘भूकम्पप्रतिरोधी भवन निर्माण आचारसंहिता लागू गर्नुपर्ने विषयमा सबैलाई जानकारीका लागि उनीहरुले सडक नाटक कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाएका छन् ।
यसैक्रममा कारितास जर्मनी र कारितास नेपालको समन्वयमा जनहित ग्रामीण सेवा समितिले जिल्लाका बतासे, स्याउले, सिम्पालकाभ्रे लगायतका विकट गाउँमा यस सम्बन्धी सडक नाटक सञ्चालन गरेका छन् । अहिले गाउँघरमा आफू खुसीले घर बन्न थालिसकेका छन् । सरकारको मापदण्ड एकातिर छ त्यसलाई अनुशरण गरेर घर बनाउने व्यक्ति गाउँमा धेरै कम मात्रामा फेला पर्छन् तर यसतर्फ सरकारको ध्यान पुग्न नसकेकाले भूकम्पप्रतिरोधी भवन निर्माण आचारसंहिता अनुरुप भवन निर्माण गर्नका लागि जनचेतना जगाउन सडक नाटक अभियान सुरु गरिएको जनहित ग्रामीण सेवा समितिले जनाएको छ ।
०७२ को विनाशकारी भूकम्पमा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति व्यहोरेको सिन्धुपाल्चोकको अवस्था भूकम्पको २१ महिना बित्नै लाग्दा पनि चिन्ताजनक देखिन्छ । सरकारी अनुदान पाउने प्रक्रिया पीडितका लागि झन्झटिलो भएको गुनासो पीडित छ । एकमुष्ट रकम वितरण गर्न नसक्दा पीडितले अहिलेसम्म स्थायी आवस निमार्ण गर्नसकेका छैनन् ।
यस्तो अवस्थाले भविष्यमा झन ठूलो विपत्ति निम्त्याउने सक्ने दावी स्थानीयको छ । सडक नाटकमार्फत चेतना जगाउनाले पीडितको मानसिकतामा सकरात्मक प्रभाव पर्ने संस्थाको दाबी छ । नाटक हेर्न विभिन्न गाउँबाट सयौंँको सङ्ख्यामा स्थानीयवासी भेला हुने गर्छन् । नाटकमा विपतका प्रकार र विपत् आइहालेमा त्यसको लागि के-के तयारी अपनाउनुपर्छ भन्ने विषयवस्तु समेटिएको समितिले जनाएको छ ।