धरान/एप्लाष्टिक एनिमिया रोगबाट पीडित धरान–३ की नइसा शाक्यलाई फेरि हङकङबासी नेपालीले सहयोग गरेका छन् । धरान–१७ समाज हङकङका अध्यक्ष मधुकुमार राईको पहलमा एक लाख १६ हजार रुपैया शाक्यलाई सहयोग गरेको हो । शाक्यको पिता नरेशलाई मंगलबार धरान रनको कार्यालयमा संस्थाका सल्लाहकार दीपक पौडेलले रकम हस्तान्तरण गरे । उक्त रकम नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विकास राईलाई पठाइएको थियो । शाक्यले विगत तीन महिनादेखि बोनम्यारो क्यान्सर रोग अन्तर्गत पर्ने एप्लाष्टिक एनिमियाबाट पीडित छिन् । बोनम्यारोबाट रक्तकोषहरुको उत्पादन सून्य हुँदै उक्त रोग देखा पर्न थाल्छ । बोनम्यारो ट्रान्सप्लान्ट नै उक्त रोगको उत्तम विकल्प हुने गरेको सम्बन्धित चिकित्सकहरुले बताएका छन् । हाल उनलाई सिभिल हस्पिटल काठमाडौंमा विगत ढेड महिनादेखि उपचार गराइरहेको छ । हाल इन्जेक्सनमार्फत उपचार भइरहेको पिता नरेशले बताए । नइसालाई बचाउनको लागि धरानमा अभियान नै चलाइएको छ । जस अन्तर्गत हालसम्म ३० लाख रुपैयाको हाराहारीमा रकम संकलन भएको छ ।