भद्रपुर/धानका लागि ‘सुपर जोन’ घोषणा भएको झापाको पूर्वी–दक्षिणी गाविसमा एकपछि अर्को कृषि यान्त्रिकीकरण भित्रिएपछि स्थानीय जनता उत्साहित बनेका छन् ।
ट्याक्टरले खेत जोत्नेदेखि धान रोप्ने, धान काट्ने, थ्रेसरले धान दाउनी गर्ने यन्त्रसँगसँगै सो क्षेत्रमा अहिले शून्य जोताई धानखेती प्रविधि र खेतको सतहलाई एकनास बनाउने लेजर ल्यान्ड लेभलर मेसिन आएका कारण सो क्षेत्रका कृषक उत्साहित बनेका हुन् । शून्य जोताई धानखेती प्रविधि मेसिनबिना जोतखन गरी खेतमा मेसिनबाटै बीउ, मल छरी धान फलाउने प्रविधि हो भने लेजर ल्यान्ड लेभलर यन्त्रले खेतको सतह मिलाइ धान रोप्न वा बाली लगाउन सरल बनाउने प्रविधि हो । यो प्रविधिले धान तथा बालीनाली लगाउन मद्दत पुग्नुका साथै गोडमेल गर्न पनि सजिलो हुने र सिँचाइका लागि पनि पर्याप्त पानी नभए पनि हुने प्रविधि हो । प्रयोगको रुपमा पथरिया गाविसमा मेखराज भट्टराईको पाँच कठ्ठाका खेतमा शून्य जोताई धानखेती प्रविधि सुरु गरिएको सुपर जोन कार्यालयका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले बताए ।