पुसमा हरैया गाउँ, बाराको जंगलमा दुइटा शव भेटिए । एउटा रूखमा बाँधिएर र अर्कोको हातखुट्टा बाँधेर घाँटी रेटिएको अवस्थामा । प्रहरी अनुसन्धानबाट दुवै जना भारतीय नागरिक भएको खुल्यो । अघिल्लो महिना बारामा भएको एकै स्थानमा दुई व्यक्तिको हत्या घटनाले नेपालमा आतंकवादको नयाँ स्वरुप देखापरेका संकेत गरेको छ । पुषको पहिलो साता दुईजना भारतीय नागरिक दीपक राम र अरूण रामको बाराकै एक जंगलमा शव भेटिएको थियो ।
लेनदेनका कारण बाराका मोजाहिर अन्सारी र उमेश कुमार आशिष सिंहले दिपकराम र अरुणरामको हत्या गरेको खुलिसकेको छ । तर प्रहरीले अहिले यो हत्यासँग जोडेर लेनदेनकै कारण मात्रै उनीहरुको हत्या हुन नसक्ने ठहरसहित बिशेष अनुसन्धानमार्फत अर्को गम्भिर रहस्यको खुलासा गरेको छ । नेपाल प्रहरीको बिशेष ब्युरो आफैले हेरेको घटनाको अनुसन्धानमा हत्या गरेको भनिएका बारा कलैयाका मोजाहिर अन्सारी र उमेश कुमार आशिष सिंहले दिएको बयान अनुसार कलैयाकै बृजकिशोर गिरीको योजनामा २ भारतीय नागरिकको हत्या भएको खुलासा भएपछि नेपालमा आतंकवाद नयाँ स्वरुपमा हुर्कदैं गएको गम्भिर रहस्यको पर्दाफास भएको हो ।
जुन आतंकवादको जालो नेपाल र भारतमा मात्रै सिमित नभई युएईबाट सञ्चालित गिरोहले नेपाल भारत सिमा क्षेत्रमा आतंकवादको जालो बिछ्याउने उद्देश्यले भएको देखिएको छ । योजनाको पर्दाफास नभएको भए सो गिरोहले नेपाल भारतको सिमा क्षेत्रमा ठुलो क्षति पुर्याउने सम्भावाना रहेको प्रहरीको अनुमान छ । यो गिरोहले केही समयभित्रै नेपालमा मानिसको बढि चहलपहल हुने स्थान, मेला पर्व वा सार्वजनिक सवारीमा बिष्फोट गराएर आतंक सिर्जना गर्ने तयारी रहेको अनुसन्धानबाट खुलेको छ । भारतको रेल लाईन वा व्यापारिक केन्द्र जस्ता ठुलो मानविय उपस्थिती रहने स्थानमा बिष्फोटको योजना बनाएको समेत खुलेको छ ।
अनुसन्धानअनुसार उनीहरूले सीमा नजिकै भारतको रेल ट्रयाकमा विस्फोट गर्ने योजना बनाएका थिए जसको जिम्मा हत्या भएका रामद्धयले पाएका थिए । तर कार्तिक १६ मा गराउन लागेको बिष्फोट त भएन सोही बिष्फोटका लागी भएको तयारीका कारण रेलको लिगमा क्षति हुँदा रेल ट्रयाकबाट बाहिरिएर दुई जनाको ज्यान जाने गरी दुर्र्घटना भयो भने धेरै घाईते पनि भए । यहि सुचना चुहिने डरले २ भारतीय नागरिकको हत्या भएको पुष्टि भईसकेको छ ।
तर अनुसन्धान गर्दैजादाँ यहि समुहको संलग्नतामा पछि, कानपुर नजिकै पुखराया भन्ने ठाउँमा ६ मंसिरमा ठूलो रेल दुर्घटना भएको समेत देखिएको छ । जसमा १ सय ४३ जनाले ज्यान गुमाएका थिए । दुर्घटना गराउने समूह एउटै भएको सूचना भारतीय प्रहरीले नेपाली पक्षलाई दिइसकेको छ । बिहारमा पक्राउ परेका तीन जनामध्ये एक जनाले यस्तो बयान दिएको प्रहरी स्रोतको भनाई छ । प्रहरीका अनुसार गिरीले नेपालमा बसेर भारत र दुबईमा दोहोरो सम्पर्क गरी योजना बनाएका थिए । अहिले बिहार प्रहरीले मोती पासवान, उमाशंकर पटेल र मुकेश यादवलाई पक्राउ गरेको छ भने अन्य दुई जना अझै फरार छन् । तर यसको मुख्य योजनाकार भने बारा कलैयाका समसुल होदा रहेको खुलेको छ ।
को हुन समसुल होदा:
बारा कलैयाका समसुल होदा केही बर्षअघिसम्म बाराका सामान्य यूवककै रुपमा चिनिन्थे । गाँउका सामाजिक कार्यक्रममा सक्रियता देखाउने गरेका होदा सन् २००१ मा बैदेशिक रोजगारीका लागी मलेशिया पुगे ।nझण्डै ९ बर्ष मलेशियाको बसाई सकेर फर्कदा मधेशमा मधेस आन्दोलनको नाममा आन्दोलन चल्दै थियो । यसरी आन्दोलनमा बिस्तारै सक्रिय बन्दै गएका होदा मधेशवादीपार्टी सभासदको रुपमा २०७० सालको सविधानसभा निवार्चनमा उम्मेदवार बने । तर चुनावमा पराजित भएपछि उनी दुबई गए र २ महिना नपुग्दै नेपाल फर्किएका थिए । नेपाल फर्किएका होदा नेपालको बारा पर्सा क्षेत्रमा छ दिन बिताएर बाँकी दिन भारतमा बिताए र २५ दिनको दिन उनी पुनः दुबई फर्किए ।
को सँग छ होदाको सम्बन्ध जसले नेपाल र भारतीय पुलिसको निदहराम गरिदिएको छः
प्रहरीका अनुसार होदाले दुबईमा बसेर कुनै आपराधिक समूहका लागि काम गरेको देखिन्छ । तर, कुन समूहसँग आबद्ध छन् भन्ने खुलिसकेको छैन । भारतीय पक्षले उनी पाकिस्तानी खुफिया एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्स एजेन्सीका लागि काम गरेको दाबी गरेको भएपनि यसको पुष्टि भने हुन सकेको छैन ।
होदा आबद्ध समूह नखुले पनि प्रहरीले नक्कली भारतीय मुद्राको कारोबारीसँगको सम्पर्क भने केलाइसकेको छ । होदाको सम्पर्क पाकिस्तानी नागरिक सफी भन्ने व्यक्तिसँग देखिएको छ । नेपालमा रहेका गिरीसँग होदाकै टेलिफोनमार्फत सफीसँग कुराकानी हुँदै आएको र ती व्यक्ति ब्युरोले नै यसअघि अनुसन्धान गरेका नक्कली मुद्रा कारोबारमा पनि संलग्न थिए ।
ठोस सूचना र प्रमाणको अभावमा यो नाम प्रहरीले मिसिलमा राख्न सकेको थिएन । यद्यपि, यो नाम नक्कली भारतीय रुपियाँको कारोबारमा संलग्न भएकाहरूको सूचीमा भने टिपोट गरिएको छ । उनले सेख सफी, चाचा उर्फ सफी नाममा आफ्नो परिचय दिने गरेको प्रहरी विवरणमा छ ।