शनिश्चरे/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले अमेरिका पुनर्वास प्रक्रिया स्थगित भएको समयमा झापा र मोरङमा रहेका १ हजार ६ सय बढी संख्याका आफुहरु शरणार्थी परिचयपत्र पाउनबाट बञ्चित रहेको भन्दै भूटानी शरणार्थीहरुले शरणार्थी परिचयपत्र पाउनु पर्ने माग दोहोर्याइरहेका छन् ।
मोरङको पथरीशनिश्चरे शिविरमा विहीबार आयोजित पत्रकार सम्मेलनमा शिविर सचिव चम्पासिंह राईले युएनएचसीआर र नेपाल सरकार समक्ष उनीहरुको परिचयपत्रको मागको व्यहोरा रहेको प्रेस विज्ञप्ति प्रस्तुत गरेका छन् । ‘शरणाकांक्षीहरुका आफन्तहरु तेस्रो मुलुक पुनर्वास भइरहेको अवस्थामा बारम्बार शरणार्थी दर्ता र परिचयपत्रको माग गरिरहँदा युएनएचसीआर र नेपाल सरकारले सुनुवाई गरेको छैन ।
उनीहरुको प्रमाणिकरण गरी परिचयपत्र प्रदान गर्दै मानवीय सहायता प्रदान गर्न अनुरोध गर्दछौं ।’– विज्ञप्तिको सार मागलाई उल्लेख गर्दै शिविर सचिव राईले भने । नेपालीहरुसँग विवाह गरेर पछि छोडपत्र भएका महिला तथा शिविर बाहिर लामो समय काम गर्न गएकाहरु शरणार्थी परिचयपत्र बनाउनबाट बञ्चित रहेको भन्दै आफुहरुले शरणार्थी सुविधाको राहत नपाउँदा समस्या भएको दर्शाएका छन् । पहिले शरणार्थीका रुपमा देखिएको भएपनि शिविर बाहिर बसेकाले राहत कटौटी भई तेस्रो मुलुक पुनर्वासका शिलसिलामा परिचयपत्रबाट समेत बञ्चित हुनु परेपछि घर परिवार विभाजित भएको उनीहरुको गुनासो छ ।
आफन्तहरु तेस्रो मुलुक गइसकेको अवस्थामा आफुहरु विचल्लीमा परेको बेलडाँगी १ का सिंहवीर तामाङ सहितले उल्लेख गरे । कार्यक्रममा झापा र मोरङका पीडित शरणार्थी भेला भएका थिए । त्यसखाले समस्यामा महिलाको संख्या बढी देखिएको छ । भारतीय रुद्र बरालसँग विवाह गरेपछ श्रीमान बेपत्ता हुँदा पुन खुदुनावारी शिविरमा रहेको माइती फर्किएर आएकी टीकादेवी अधिकारी अहिले आफु विचल्लीमा रहेको सुनाउछिन् । ‘विहे गरेपछि सन् २००७ देखि मेरो रासिन काटियो । श्रीमान बेपत्ता भएपछि यता आउँदा बुबा आमा सहितको ६ जनाको परिवार तेस्रो मुलुक गइसक्यो । मेरो परिचयपत्र नभएकाले विचल्लिमा छु ।’–उनले पत्रकारहरुसँग भनिन् ।
पथरीशनिश्चरेबाट ३ सय ८०, बेलडाँगी १ बाट २ सय ३५, बेलडाँगी २ र ३ बाट १ हजार २६ गरी कुल १ हजार ६ सय ४१ जना परिचयपत्रबाट बञ्चित भएको जारी विज्ञप्तिमा जनाइएको छ ।स्वतन्त्रताको आवाज उठाउँदा सरकारले देश निकाला गरेको उनीहरुको पीडा छ । २६ वर्षअघिदेखि आफ्नो देश फर्किने सपना साकार हुन नपाएपछि विकल्पका रुपमा तेस्रो मुलुक पुनर्वासलाई स्वीकारेर मन बुझाउँदै आएका उनीहरुका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको आप्रवासन सम्बन्धी एक आदेशका कारण अमेरिका पुनर्वास प्रक्रिया पनि स्थगित भएको छ ।अन्तराष्ट्रिय आप्रवासी संगठन आइओएमले अमेरिकामा आप्रवासनका लागि १८ माघमा झापाबाट काठमाडौं लैजाने तयारीमा राखेको भुटानी शरणार्थीलाई १७ माघमा अमेरिका पुनर्वासको कार्यक्रम हालका लागि स्थगन भएको सूचना दिएको छ । दमकस्थित एकजना पुनर्वास अधिकारीले करिव चार महिनाका लागि भुटानी शरणार्थीको अमेरिका पुनर्वास स्थगित हुने बताएका छन् ।
माघ १८ मा अमेरिका जानका लागि काठमाडौं लान १७ गते उनीहरुको अन्तिम स्वास्थ्य परीक्षण गरिएपनि अमेरिकी नयाँ आदेशका कारण स्थगित भएपछि उनीहरु निराश छन् ।यसैबीच शिबिरस्थित पुनर्वास सूचना पाटीमा पुनर्वास सहयोग केन्द्र, अन्तराष्ट्रिय आप्रवासी संगठन आइओएम र अमेरिकी सरकारका तर्फबाट टाँस गरिएको सुचनामा ३ फेब्रुअरीपछि अर्को सूचना नआएसम्मको लागि शरणार्थीको अमेरिका पुनर्वास प्रक्रिया स्थगित भएको उल्लेख गरिएको छ । ‘देशबाट लखेटियौं । यहाँ आएर दिशाविहीन भयौं । भौंतारिदै बाहिरफेर काम गर्यौं । त्यो बेला शरणार्थी परिचयपत्रबाट छुट्यौं ।
तेस्रो मुलुक पुनर्वास पनि अमेरिकाका लागि स्थगित भएपछि हामी ज्यादै अन्यौलमा पुग्यौं । ’– पथरीशनिश्चरे शिविर सेक्टर ए फोर छाप्रा नम्बर ३४ का परिचयपत्रविहीन ३९ वर्षीय लालबहादुर विश्वकर्माले भने ।हालसम्म अमेरिका सहितका ८ मुलुकमा १ लाख ७ हजार भुटानी शरणार्थी पुनवार्स भइसकेका छन् । जसमध्ये करिव ९२ हजार अर्थात ८७ प्रतिशत भन्दा बढि भुटानी अमेरिका पुगेका छन् । सन् २००७ बाट शरणार्थीको पुनर्वास प्रकृया थालिएपछि २००८ मार्च ४ बाट पुनर्वासका क्रममा पहिलो पटक अमेरिका पठाइएको थियो ।