विराटनगर/ जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा मोरङ र सुनसरीमा एक हजार छसय आवासगृह निर्माण हुने भएको छ । मोरङ र सुनसरीमा आठ-आठ सय आवासगृह निर्माण गरिने छ । यस कार्यक्रमको माध्यमबाट घरवारविहीन अवस्थामा रहेका अति विपन्न परिवार लाभान्वित हुने विश्वास गरिएको छ । नेपाल सरकारले भवन निर्माणका लागि छनोट भएका प्रत्येक परिवारलाई रु दुई लाख १२ हजारका दरले चार किस्तामा रकम उपलब्ध गराउनेछ भने रु १३ हजार प्राविधिक खर्चसमेत गरी एक आवासगृह निर्माणमा रु दुई लाख २५ हजार लागतपर्ने सहरी विकास तथा भवन निर्माण कार्यालय मोरङले जनाएको छ । सो कार्यका लागि मोरङ र सुनसरीमा रु चार करोड ५६ लाखका दरले रकम विनियोजन गरिएको र आवश्यक परेको अवस्थामा थप रकम निकासा हुने सो कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी दिए। उक्त कार्यक्रमअन्तर्गत प्रत्येक परिवारका लागि २२ फिट लम्बाइ र १५ फिट चौडाइको दुई कोठा, बरण्डा र शौचालयसमेत गरी एक आवासगृह निर्माण गरिने कार्यालय प्रमुख सिंहले बताए ।