बेनी / म्याग्दीको सदरमुकाम बेनीमा शनिबार कम खर्चिलो भू–संरक्षण प्रविधिसम्बन्धी तालिम सम्पन्न भएको छ । ‘माटो पानी जोगाऔँ, हरियाली बढाऔँ’ भन्ने मूल नारासहित जिल्ला भू–संरक्षण कार्यालय, म्याग्दीको आयोजनामा भूस्खलन हुने क्षेत्रमा कम खर्चिलो प्रविधि अपनाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
वेगखोला गाविसको १ देखि ८ र दोवाको १ देखि ६ वडाका वडा समन्वय समिति तथा पावर महिला समूहका पदाधिकारीलाई तालिम दिइएको थियो । सघन सामुदायिक विकास तथा वन जलाधार संरक्षण आयोजना लागू भएका गाविसका ३० जना उपभोक्ता र पाखापानी, बेगखोलाका तीन महिला उत्प्रेरकसहित ३३ जनालाई तालिम प्रदान गरिएको जिल्ला भू–संरक्षण कार्यालय, म्याग्दीले जनाएको छ ।
तालिमको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल र सहायक भू–संरक्षण अधिकृत शम्भुकुमार मिश्रले सहजीकरण गर्नुभएको थियो । तालिमका सहभागीलाई कम खर्चिलो भू–संरक्षण प्रविधिको प्रयोग गरी स्थानीय रुपमा पाइने सामग्री बाँस, अम्लिसोलगायतको सहायताले पहिरो रोकथाम, गल्छीको उपचारलगायतका बारेमा सिकाइएको थियो ।
तीन दिनसम्म चलेको तालिममा सैद्धान्तिक ज्ञान दिनुका साथै बेनपा–५ को थाकन भालुखोला सामुदायिक वनको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्रयोगात्मक अभ्याससमेत गरिएको थियो ।