काठमाडौँ / सहिद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सम्झनामा आज विष्णुमतीमा श्रद्धाञ्जलिसभाको आयोजना गरिएको छ ।
विसं १९९७ माघ १५ गते उहाँहरुलाई मृत्युदण्ड दिइएको स्थानमा आज काठमाडौँ महानगरपालिकाले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले प्रजातन्त्र प्राप्तिमा ज्यान दिने सहिदप्रति राजनीतिक दलका साथै नागरिकको सच्चा श्रद्धाञ्जलि हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
बैतडीमा जन्मिनुभएका दशरथ चन्द र रामेछापको भङ्गेरीमा जन्मिनुभएका गङ्गालाल श्रेष्ठ राणा शासन विरोधी आन्दोलनमा लागेको कारण उहाँहरु दुवैलाई शोभाभगवतीमा लगेर एकअर्काले देख्ने गरी गोलीहानी मृत्युदण्ड दिइएको थियो ।
राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेर राणाले १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए ।
निर्णय भएको चार दिनपछि विसं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंँको टेकु पचलीमा, तीन दिनपछि माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र पाँच दिनपछि माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।
रासस