काठमाडौँ/ उपत्यकाका प्रमुख नदी सफाइ गरी १९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९४ औँ हप्तामा आज गैरीगाउँदेखि शान्तिनगर पुलसम्मको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिए ।

सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत सहभागिता थियो । सफाइको नेतृत्व पूर्व सचिव किशोर थापाले गरेका थिए । सफाइमा प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, अधिकार सम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्यलगायत अभियानकर्मीको उपस्थिति थियो ।

आजको सफाइमा भारतको हरिद्वारको विद्या आश्रमका चार कन्याको पनि सहभागिता थियो । ती कन्या बागमती सफाईमै सहभागी हुन नेपाल आउनुभएको आयोजना प्रमुख सिंहले बताए । सफाईमा टेलिकमको वार्षिकोत्सवका अवसर पारेर कर्मचारीको पनि उल्लेख्य उपस्थिति थियो ।

सो अवसरमा टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सफाई महाअभियानलाई ३०० जोर बूट, ३०० जोर स्थायी पञ्जा, १०० ट्र«याक सुट, ५० डोको र ५० फलामको सुइरो हस्तान्तरण गरे । सफाईसँगै यस क्षेत्रका घरदैलोमा पुगी जनचेतनामूलक अभियान सञ्चालन गर्ने क्रममा सुकुम्वासी बस्तीमा भगवती कार्कीका दुई अपाङ्ग छोराहरुलाई बाँधेर राखिएको अवस्थामा फेला पारेपछि उपचार एवम् शिक्षा दीक्षाका लागि रु एक लाख ३८ हजार ९६० सहयोग सङ्कलन भएको मुक्तिनाथ विकास बैंकका सञ्चालक नारायण श्रेष्ठले जानकारी दिए ।

“टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत रु एक लाख, बैंकले रु १० हजार र सफाईमा उपस्थितबाट रु २८ हजार ९६० सङ्कलन गरिएको, थप उपचार एवम् शिक्षा दीक्षाका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ”–उनले भने । रुद्रमती सफाईको १५३ औँ हप्तामा आज नीलोपुलदेखि गोपीकृष्ण पुलसम्मको क्षेत्रमा सफाई गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

सफाईमा काठमाडौँ महानगरपालिकाका वडा नं ४ र ७ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारीहरु लगायतको सहभागिता थियो ।सफाईको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गरेका थिए । अर्को शनिबार १५४ औँ हप्ताको रुद्रमती सफाई गोपीकृष्ण पुलदेखि भत्केको पुल क्षेत्रसम्म गरिने उपाध्यक्ष गिरीले बताए ।

विष्णुमती सफाईको १२६ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाई गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । महादेव खोलाको सफाईमा स्थानीयवासीको कम सहभागिता जुटेको अभियानकर्मी बिजेन्द्र लामाले बताए । धेरैजसोले सेफ्टी ट्याङ्की नबनाई सिधै खोलामा ढल हालेको पाइएको उनले जानकारी दिए ।

नख्खुखोला सफाईको ७० औँ हप्तामा आज कार्यविनायक नगरपालिका वडा नं २ फूलबारीमार्ग र फूलबारी बगैँचा सफाई गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको नख्खुखोला सरसफाई अभियानका संयोजक बलुदेव पाण्डेले बता ।सङ्कलन गरिएको फोहर नेप्से म्याक प्रालिले व्यवस्थापन गर्नेछ । यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज लगायत संस्थाले सफाई गरेका छन् ।