चौतारा/ सेवाग्राहीलाई घरदैलोबाटै सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको थकनी गाविसमा सञ्चालित एकीकृत घुम्ती शिविरबाट ५८१ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ ।
जिल्लास्थित सरकारी कार्यालयहरुद्वारा बिहीबार सञ्चालित एक दिवसीय शिविरबाट थकनी, हैबुङ र सिन्धुकोट गाविसका बासिन्दाहरुलाई विभिन्न सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । शिविरमा ३०९ जना मतदाताको फोटोसहित नाम दर्ता, २१९ जनाको सामान्य स्वास्थ्य परीक्षण, १० जनालाई अपाङ्ग परिचयपत्र र १६ जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको परिचयपत्र वितरण गरिएको थियो ।
त्यसैगरी, १९२ घरधुरीलाई पशुपन्छीको औषधि निःशुल्क वितरण गरिएको थियो । पाँचसय कृषकको बाली परीक्षण गरी उन्नत बीउविजन वितरण गरिनाका साथै ४३१ वटा झोलासमेत वितरण गरिएको प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले जानकारी दिए ।
-रासस