कैलाली/ सुदूरपश्चिमका वन कार्यालयमा वन्यजन्तुको छाला तथा हड्डी ओसारपसारका बढी मुद्दा दर्ता भएको छ ।
गत आर्थिक वर्षमा दर्ता भएका १८४मुद्दामध्ये अधिकांश मुद्दा वन्यजन्तुको छाला तथा हड्डीको ओसारपसारसम्बन्धी रहेका र तीमध्ये २३ मुद्दामात्रै फछ्र्योट भएका सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयले जनाएको छ ।
आव २०७२-७३ मा सबैभन्दा बढी कैलालीमा ७६, कञ्चनपुरमा ६६ मुद्दा दर्ता भएका थिए भने सबैभन्दा बढी वन्यजन्तुको छाला तथा हड्डीको ओसारपसार र वन पैदावारको अवैध ओसारपसार पनि कैलाली र कञ्चनपुरमा रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशक सुदीप कोइरालाले जानकारी दिएका छन् ।
उनले वन्यजन्तुको चोरी सिकारीमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय रहेकाले नियन्त्रणमा कठिनाइ भइरहेकोे बताए। उनले मानव बस्ती जङ्गलको नजिक हुँदा जनावरले स्थानीयवासीको अन्न बाली खाइदिने गरेका कारण स्थानीयवासीले पासो थाप्ने गरेकाले पनि वन्यजन्तुको संरक्षणमा चुनौती थपिएको जानकारी दिए ।
कार्यक्षेत्र बढी तर जनशक्ति कम हुँदा पनि समस्या भएको निर्देशक कोइरालाको गुनासो छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा २५ वटा वनसम्बन्धी मुद्दा दर्ता भएका छन् भने अन्य पहाडी जिल्लामा भने कम मात्रामा मुद्दा दर्ता भएको क्षेत्रीय वन निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
वन पैदावारको अवैध ओसारपसार गर्ने क्रियाकलाप पनि रोकिएको छैन र पक्राउ परेपछि काठ छोडेर भाग्ने र पक्राउ परेका व्यक्तिले अन्यको नाम नभनिदिँदा समस्या हुने गरेको निर्देशक कोइरालाले जानकारी दिए । जिल्ला वन कार्यालयले चालु आवको तथ्याङ्क भने क्षेत्रीय वनमा उपलब्ध गराएको छैन ।
-रासस