सुरुङ्गा/ जङ्गली हात्तीको आक्रमणमा परीे एक बालिकासहित दुईजनाले ज्यान गुमाएसँगै झापाको भद्रपुर नगरपालिका–२ अहिले शोकमग्न भएको छ ।आइतबार जङ्गली हात्तीको आक्रमणमा परी भद्रपुर–२ की ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो भने सोमबार सोही ठाउँकी १३ वर्षीया बालिका शर्मिला लिम्बूले पनि ज्यान गुमाएकी छन् ।

आइतबार मायालु सामुदायिक वनमा घाँस काट्न गएका उनीहरूलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका एसपी शैलेश थापा क्षेत्रीले बताए ।हात्तीको आक्रमणमा परी पालमायाको आइतबार नै मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । यता आइतबारदेखि नै बेपत्ता बनेकी शर्मिलाको सोमबार मात्रै शव फेला परेको छ । हराएकी बालिकालाई सोमबार स्थानीयवासी, प्रहरी र जिल्ला वन कार्यालय झापाको टोलीले मृत अवस्थामा फेला पारेका थिए ।