विजयपुर/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागका केही डाक्टरको मिलोमतोमा हाडजोर्नीका इम्प्लान्टसमा कालोबजारी गर्दै आएको सुजिता फार्मेसीले अवैध रुपमा ‘इम्प्लान्टस’ बेच्ने गरेको अर्को रहस्य खुलेको छ ।

सुजिता फार्मेसीले सुजिता अर्थोकेयरको नाममा दर्ता नै नगरी ‘सिग्नोर ’कम्पनीको आधिकारीक बिक्रेताको रुपमा इम्प्लान्टसहरु बेच्ने गरेको पाइएको हो । यसरी बिना दर्ता इम्प्लान्टस बेच्दा राजश्व समेत छली हुने गरेको छ । डाक्टरहरुको मिलोमतोमा हाडजोर्नीका इम्प्लान्टसमा कालोबजारी हुने गरेको समाचार ब्लाष्ट दैनिकमा प्रकाशित भएपनि प्रशासनले भने यसतर्फ चासो दिएको छैन । सुजिता फार्मेसीलाई औषधि व्यवस्था विभागले क, ख र ग श्रेणीका एलोपेथिक औषधिमात्र बिक्री गर्न अनुमति दिएको छ । तर सुजिताले फार्मेसीको नाममा अवैध तरिकाले हाडजोर्नीका इम्प्लान्टसहरु पनि बिक्री गर्दै आएको छ ।

कानुनतः यसरी अवैध कारोबार गर्नु र राजश्व छली गर्नु अपराध हो । सर्जिकल सामग्री बेच्न कम्पनी रजिष्टारको कार्यालय वा घरेलु तथा साना उद्योग कार्यालयबाट अनिवार्य स्वीकृति लिएर आन्तरिक राजश्व कार्यालयले उपलब्ध गराएको बिक्री तथा खरिद खातामा सर्जिकल सामग्रीको अभिलेख राख्नु पर्ने कानुनी व्यवस्था छ । तर सुजिताले कुनैपनि प्रक्रिया पूरा नगरी प्रतिष्ठानका केही डाक्टरको मिलोमतोमा सिग्नोर कम्पनीका हाडजोर्नीका इम्प्लान्टसहरु बेच्दै आएको छ ।यसअघि सिग्नोर कम्पनीका इम्प्लान्टसहरु बिक्री गरेका एक व्यवसायीले डाक्टरहरुले कमिशन मागेकै कारण अाफुले इम्प्लान्टसको बिक्री गर्न छाडेको बताए ।

उनका अनुसार यस्ता इम्प्लान्टसहरुमा डाक्टरहरुले कमिशन माग्ने गरेका कारण व्यवसायीहरुले इम्प्लान्टसमा मनोमानी मूल्य लिने गरेको उनले बताए ।औषधि व्यवसायी सङ्घ कोशीका सदस्य मनोज यादवले डाक्टरलाई कमिशन दिने तथा बढी नाफा कमाउने उद्देश्यका लागि औषधि पसल तथा सर्जिकल सामानहरु (इम्प्लान्टनस समेत) बिक्री गर्न अवैधानिक बाटो अपनाउनु गलत भएको बताए । व्यवसाय सञ्चालन गर्दा वैधानिक बाटोबाटै सञ्चालन गर्न उनले आग्रह गरे ।

औषधि तथा इम्प्लान्टसमा कम्पनीले नै कमिशन दिने बताउँदै व्यापारीले डाक्टरलाई कमिशन दिन आवश्यक नरहेको उनले बताए । औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख शम्भु साहले बढी मूल्यमा औषधि बेच्नेलाई कालोबजारी ऐन अन्तर्गत कारवाही गरिनुपर्ने बताए ।‘कालोबजारी ऐन अन्तर्गत कारवाही गर्ने अधिकार हामीलाई छैन, वाणिज्य विभाग वा जिल्ला प्रशासन कार्यालयले यसतर्फ ध्यान दिनु आवश्यक छ ।’ सर्जिकल सामानहरु औषधि व्यवस्था विभागले नहेर्ने भएकाले यसलाई वाणिज्य विभागले हेर्नुपर्ने उनको भनाइ छ ।

‘अब हाडजोर्नीका इम्प्लान्टसमा बिरामी नठगिने’

विजयपुर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागले ‘अर्थोपेडिक्स इम्प्लान्टस’ बिक्री गर्दैआएका विक्रेतासँग मूल्य सूची माग गरेर वार्डमा टाँस गरेको छ । अब बिरामीले किनेर ल्याएको इम्प्लान्टसको मूल्य र विभागमा बिक्रेताले दिएको मूल्यमा एक रुपता आउने भएको छ ।प्रतिष्ठानका निमित्त उपकूलपति तथा हाडजोर्नी तथा नशा रोग विभागका पूर्व प्रमुख प्रा. डा. विक्रमप्रसाद श्रेष्ठले अब डाक्टर र बेक्रेताबाट बिरामी ठगिने सम्भावना हटेको बताए । ब्लाष्ट दैनिकमा डाक्टरको मिलोमतोमा इम्प्लान्टसमा कालोबजारी हुने गरेको समाचार सार्वजनिक भएपछि विभागले अर्थोपेडिक्स इम्प्लान्टस बिक्री गर्दैआएका ग्रिन, शक्ति तथा सिग्नोर कम्पनीका बिक्रेतासँग इम्प्लान्टसको मूल्यसूची माग गरेको थियोे । यसअघि सिग्नोर कम्पनीको इम्प्लान्टमा कालोबजारी गरेको सुजिता फार्मेसीले पनि अाफ्नाे रेट घटाएर विभागमा बुझाएको स्रोतले जनाएको छ ।निमित्त उपकूलपति श्रेष्ठले अर्थोपेडिक्स इम्प्लान्टसको मूल्यसूची वार्डमा राखेर बिरामीले औषधि इम्प्लान्टस ल्याएपछि अनिवार्य रेट चेक गराउनेगरी तयारी थालिएको बताए । ‘अब इम्प्लान्टसमा बिरामी ठगिने सम्भावना हँुदैन, हामीलाई उपलब्ध गराएको रेट र बिरामीलाई दिएको रेट नमिलेको खण्डमा हामी कम्पनीप्रति कडा कडा कदम चाल्छौं’, प्रा. डा. श्रेष्ठले भने । अब सिग्नोर, ग्रिन वा शक्ति कम्पनीले दिएको रेटभन्दा बढि मूल्य बिरामीबाट असुलेको जानकारी पाउनसाथ एक्सन लिन्ने डा. श्रेष्ठले बताए । इम्प्लान्टसको मूल्य चेक गर्न वार्डमा एकजना सहयोगी राखिएको उनले जनाए ।

र याे पनि पढ्रनुस  -हाडजोर्नीका ‘इम्प्लान्टस’मा कालोबजारी