झापा/ विरिङ खोलाबाट मापदण्ड विपरीत नदीजन्य साम्रगी उत्खनन् गरेका कारण उत्तरी झापाको बुधबारे र खुदुनाबारीको सयौं बिघा जमिन बाँझिने अवस्थामा पुगेको छ ।विरिङ खोलाबाट वर्षेनि नदीजन्य सामग्री उत्खनन् हुँदै आएको छ । यसवर्ष पनि सोही प्रक्रिया दोहोरिँदा यहाँका बीस भन्दा बढी पैनी, कुलो सुकेका छन् । जसका कारण यस क्षेत्रको दुई हजार बिघाभन्दा बढी जमिनमा धानखेती हुन छाडेको बुधबारे–२ की तुलसा थापाले बताइन् ।

उनका अनुसार नदीजन्य सामग्री निकाल्न ठूला स्काभेटर प्रयोग गरेर खोला गहि¥याएका कारण पैनीको मुहान सुकेका छन् । त्यस क्षेत्रमा सञ्चालनमा आएका पैनीमध्ये नेपालटार पैनी गत वर्षबाट सञ्चालनमा आउन नसक्दा बुधबारे– २ को एक सय ३५ बिघाभन्दा बढी जमिनमा धानखेती प्रभावित भएको छ । खोला गहिरिएर पैनीमा पानी नचढेपछि अधिकाङ्श कृषकले धानको साटो अन्य बाली लगाएका छन् । कोही– कोहीले आकाशे पानीको भरमा धानखेती गरेपनि सिँचाइ अभावले धान नफलेपछि कृषकहरु आन्दोलित बनेका छन् ।जिल्ला विकास समिति झापाले जिल्ला अन्तर्गत बहने विरिङ टाङटिङ खोलामा चालू आर्थिक वर्षमा तीन करोड २५ लाखमा नदीजन्य सामग्री उत्खनन्, सङ्कलन, घाटगद्दी र बिक्री वितरणका लागि ठेक्का लगाएको छ ।

गौरादह–१ का जगतबहादुर राईको सामसुहाङ विल्डर्सलाई जिविसले विरिङ खोलाको नदीजन्य सामग्री उत्खनन्का लागि ठेक्का लगाए पनि मापदण्डभन्दा तीन गुणा बढी गहि¥याएर खोलाबाट नदीजन्य सामग्री निकालेपछि त्यस क्षेत्रमा पानीको समस्या भएको बताइएको छ ।खोला गहिरिएपछि त्यस क्षेत्रमा सिँचाइका लागि मात्र होइन खानेपानीको मुहान पनि सुकेकाले सिङ्गो गाउँनै समस्यामा परेको छ बुधबारे–२ का नेत्र न्यौपानेले बताए । उनले भने, ‘खोला गहिरिँदा इनार र ट्युवेल सुकेर खानेपानीको समस्या आएको छ, सरकारी निकाय बेखबर बन्दा यहाँका झण्डै १५ हजार मानिस प्रत्यक्ष मारमा परेका छन् ।’नदीजन्य सामग्री उत्खनन्को ठेक्का लिएको ठेकेदार कम्पनीलेमापदण्ड विपरीत काम गरेका कारण पाङ्ग्रे, हात्ती किल्ला, गिद्दे, होक्से, लक्ष्मी विरिङ, सुब्बा, जोरपैनी, नेपालटार पैनी, निरोल्नी पैनी पूर्णरुपमा सुकेका छन् । ती पैनी सुक्दा त्यसक्षेत्रको दुई हजार बिगाहा खेतीयोग्य जमिन बाँझिने अवस्थामा पुगेको बुधबारे गाविस सचिव वासुदेव भट्टराईले बताए ।

झापा जिल्ला विकास समितिका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीका अनुसार सम्झौताअनुसार बढीमा डेढ मिटरसम्म खोला खोतल्न सकिन्छ ।झापाको उत्तर–दक्षिण भएर बग्ने विरिङ नदीसँग जोडिएका बुधबारे गाविसका १ देखि ५ नम्बर वडा, शनिअर्जुन नगरपालिका– ३, ५ र खुदुनाबारी गासिवका १, २ नम्बर वडाका करीब दुई हजार हेक्टर जमिनसहित चार हजारभन्दा बढी घरपरिवार प्रभावित हुने अवस्थामा पुगिसकेको स्थानीयवासीको भनाइ छ । ठेकेदारलाई कारबाही गर्छौं –सहायक प्रजिअ निरौला खुदुनाबारी १ र २ मा पर्ने विरिङ नदी आसपासका स्थानीयवासी, ठेकेदार र जिविस कर्मचारीबीच विवाद सिर्जना भएपछि जिल्ला अनुगमन तथा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले प्राविधिक टोली गठन गरेका छन् । विवाद समाधानका लागि प्राविधिक टोली गठन भएसँगै सहायक प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौलासहितको टोलीले सो क्षेत्रको निरीक्षण गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले मापदण्ड विपरीत जथाभावी नदीजन्य सामग्री उत्खनन्मा संलग्न ठेकेदारलाई कारवाही गर्ने स्थानीयवासीलाई बताएका छन् । उनले अव्यवस्थित उत्खनन्का कारण पुगेको क्षतिको विवरण सङ्कलनका लागि स्थानीयवासीलाई आग्रहसमेत गरेका छन् ।