तरहरा/सुनसरीको दुहबी–भलुवा–४ स्थित माउण्ट मनास्लु बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल तथा सामुदायिक विकास सेवा दुहबीका अध्यक्ष शङ्कर थापा आइतबार तारेखमा छुटेका छन् ।
घरमा काम गर्न बसेकी महिलाको तीन साताअघि रहस्यमय हत्या भएपछि थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।शुक्रबारबाट शुरु भएको थुनछेक बहसपछि जिल्ला अदालत सुनसरीका न्यायाधीश भीष्मराज प्रसाईंको आदेश अनुसार थापा तारेखमा छुटेका हुन् । दुई वर्ष अघिदेखि थापाको घरमा काम गर्न बसेकी ३५ वर्षीया एकल महिला पवित्रा विष्टको हत्या भएको अवस्थामा पुस १४ गते बिहान शव भेटिएको थियो । न्यायाधीश प्रसार्इंले थप प्रमाण बुभ्दै जाँदा ठहरेबमोजिम पुर्पक्षका लागि अदालती बन्दोबस्त ४७ नम्बर बमोजिम तारेखमा राख्नू भनी आदेश दिएसँगै थापा छुटेका हुन् ।न्यायाधीश प्रसार्इंले तयार गरेको आदेश पर्चामा थापाविरुद्ध कुनै पनि व्यक्तिले किटान नगरेको, अदालत र अनुसन्धानका क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष इन्कारी बयान दिएकाले गर्दा मनासिब र बस्तुनिष्ठ आधार नभएको उल्लेख छ ।
प्रहरीले भने बयानभन्दा प्रमाणलाई प्राथमिकतामा राखेर मुद्दा पेश गरेको जनाएको छ ।प्रहरीले अदालतमा बुझाएको मिसिलमा पोष्टमार्टम रिपोर्टमा घाँटी थिचेर हत्या गरेको प्रमाण र थापासँग बयान लिँदाको भिडियो समेत पेश गरेको उल्लेख छ । न्यायाधीश प्रसार्इंले तयार गरेको आदेश पर्चामा भने प्रहरी प्रतिवेदनसम्मको आधारबाट मात्र दोषी रहेछन् भनी मान्न नसकिने उल्लेख गरेका छन् । शुक्रबारबाट शुरु भएको थुनछेक बहसमा बिष्टका तर्पmबाट जिल्ला न्यायाधीवक्ता भरतमणि रिजालले बहस गरेका थिए । थापाका तर्पmबाट शम्भु थापासहित १२ जनाले बहस गरेका थिए ।
थापाको घरमा घरायसी काम गर्ने विष्ट पहिलो तलामा बस्थिन् । थापाका श्रीमान्–श्रीमती पनि पहिलो तल्लामै बस्ने गर्थे । अढाइ तल्ले घरको सबैभन्दा माथिल्लो तलामा थापाकी छोरी बस्ने गर्थिन् । तर, बिष्टको हत्या भएको बेला थापाकी श्रीमती र छोरी दुवैजना घरमा थिएनन् । बिष्टको ताप्लेजुङमा विवाह भएपनि विराटनगरको जामुनगाछीमा डेरा गरी बस्दै आउँदा नौ वर्षअघि लोग्नेले छाडेपछि उनले थापाको घरमा काम गर्न थालेकी थिइन् ।