भद्रपुर/नेपाल प्रहरीले भद्रपुर वडा प्रहरी कार्यालयमा एक इन्स्पेक्टरसहित ९५ जना प्रहरीको दरबन्दी कायम गरे पनि कार्यालय भवनको अभावले प्रहरी नपठाउँदा नगरको सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको स्थानीयले बताएका छन् ।
वडा प्रहरी कार्यालयले बुधबार ‘प्रहरी मेरो साथी’ भन्ने मूल नाराका साथ आयोजना गरेकोे सार्वजनिक नागरिक सुनुवाइ कार्यक्रममा नगरवासीले यस्तो बताएका हुन् । भद्रपुरमा दरबन्दीअनुसार प्रहरी नहुँदा नगरको शान्ति सुरक्षा दिनहुँ खस्किँदै गएको उनीहरूको भनाइ छ । प्रहरी सङ्ख्याको तुलनामा नगरको क्षेत्र विस्तार भएको र जनसङ्ख्या बढी भएकोले चोरी, तस्करी, जुवातास, अवैध धन्धा, कालोबजारी, ट्राफिक व्यवस्थापनजस्ता क्रियाकलापमा चुनौती थपिएको स्थानीय वसन्त तुलाधरले बताए ।भद्रपुर बजारमा मात्र प्रहरी बढी केन्द्रित हुने गरेकोले नगरका अन्य क्षेत्रमा सुरक्षामा चुनौती थपिएको स्थानीय हजरत अलीले बताए ।
तस्कर समूहमा आबद्ध व्यक्तिका कुरामात्र प्रहरीले सुन्ने गरेको गुनासो उनले गरे । सीमा क्षेत्रमा पशुजन्य चौपायाको तस्करी प्रहरीकै सेटिङमा हुने गरेको स्थानीय हेमलाल भट्टराईले आरोप लगाए । सीमामा प्रहरीले जाँचका नाममा सर्वसाधारणलाई दुःख दिने गरेको गुनासो उनले गरे । स्थानीय खड्ग लिम्बूले ‘प्रहरी मेरो साथी’ अभियानमा मात्र सीमित रहेकोले सर्वसाधारण अहिले पनि प्रहरीसँग डराउने गरेको सुनाए । प्रहरीले निर्दोष र दोषीको पहिचान नगरी हचुवाका भरमा कारवाही गर्दा सर्वसाधारणमा आतङ्क पैmलिएको उनको भनाइ छ ।
स्थानीय शंकर गौतमले प्रहरीले कसैको दवाबमा काम गर्न नहुने सुझाव दिए । भारतको विहार तथा बङ्गाल राज्यसँग सीमा जोडिएको नगरको शान्ति सुरक्षाका लागि हाल ४२ जना प्रहरी कार्यरत् रहेको इन्स्पेक्टर कुलप्रसाद चौधरीले बताए । प्रहरीको सङ्ख्या कम भए पनि सीमामा हुने तस्करी नियन्त्रणदेखि नगरको शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनसम्म आवश्यकताअनुसार प्रहरी परिचालन गरिरहेको उनले बताए ।
‘प्रहरी मेरो साथी’ भन्ने नारा जस्तै नगरवासीले प्रहरीलाई साथी मानेर सहयोग गरेमा मात्र नगरको शान्ति सुरक्षामा सुधार आउने उनको भनाइ छे । कुनै पनि प्रहरीले कानूनविपरीत काम गरेमा तत्काल आपूmलाई जानकारी गराए विभागको नियमअनुसार कारवाही गरिने उनले आश्वासन दिए ।