भद्रपुर/जिल्ला प्रशासन कार्यालय झापाले अनुगमन नगरेका कारण सेवाग्राही मार्कामा परेका छन् । अन्य कार्यालयको तुलनामा बढी सेवाग्राहीको चाप हुने जिल्ला नापी कार्यालयका विभिन्न दर्जाका आठजना कर्मचारी कार्यकक्षमा नआएका कारण सेवाग्राही मारमा परेका हुन् ।

नापीमा कार्यरत कर्मचारी मध्ये कोठा नम्बर २मा कार्यरत सुरेश लाल कर्ण र सन्तोष यादव, ७ मा शुरेश मेहता,१० मा शत्रुधन चौधरी र भट्टाई चौधरी, ११ मा लक्ष्मण यादव,सन्तोष यादव र ४ नम्बरमा अनवारुल हक अन्सारीसहितका कर्मचारी दिउँसो १२ बजे सम्म कार्यकक्षमा थिएनन । विभिन्न काम लिएर सो फाँटमा गएका सेवाग्राही उनिहरुलाई कुरेर बसेका थिए । सरकारको तलव खाएर १२ बजे पनि नआउने कर्मचारीलाई प्रशासनले कुनै कारबाही गर्न नसकेको ,घुस रकम मिलाउनलाई ढिलो भएको जस्ता आवाजहरु सेवाग्राहीवाट आइरहेको भएतापनि नाम भन्न कसैले चाहेनन ।

अन्सारी,मेहता र कर्ण विदामा बसेको तथा अन्य कर्मचारी कार्यालय परिसरमानै रहेको नापी कार्यालय भद्रपुरका प्रमुख नापी अधिकृत डिल्लीराज भण्डारीले जानकारी दिए । कर्मचारी कार्यकक्षमा नभेटेपछि किन तपाइले मलाई नभनेको र कार्यलय समयपश्चात भनेर केहि गर्ननसकिने भण्डारीको भनाई छ । कुनै कर्मचारी प्रमुखको कार्यकक्षमा हुने तथा कुनै कार्यालयको कामले बाहिर गएको हुनसक्ने उनले दाबी गरे । कार्यलयमा नभेटिएका सर्वेक्षक लक्ष्मण कुमार यादवले कर्मचारीको विवरण भर्नको लागी केहिवेर बाहिर गएको मात्र हो पुनः काममा फर्किएकोे बताए । अन्य कर्मचारीको बारेमा आफुलाई थाहा नभएको यादवको भनाई छ ।

कर्मचारीको अनुगमन भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रीले बताए । दुई दिन अघि बसेको कार्यालय प्रमुखको नियमित बैठकले कार्यकक्षमा नेपाल सरकारले तोकेको पोशाक तथा परिचय पत्र अनिवार्य लगाउनु पर्ने भनि कडा निर्देशन दिएको बताउदै नापी र मालपोतलाई तोकेरनै निर्देशन दिएको प्रजिअ खत्रीको भनाई छ । कर्मचारी नभेटिएको विषयमा कार्यालय समय सकिएपछि केहि प्रमाण नहुने उनले बताए । नापीको हाकीमलाई फोन गरेर के भएको हो जानकारी लिइने उनले बताए ।