दमक, ६ माघ । दिवङ्गत पितृको स्मृतिमा झापाको धरमपुर–५ स्थित मङ्गलबारेमा रहेको प्रहरी चौकीलाई एकजना दाता परिवारले रु साढे तीन लाखको लागतमा प्रतीक्षालय भवन निर्माण गरिएको छ। दिवङ्गत आफ्ना आमाद्वय कौशिला र तीरमाया राईको स्मृतिमा छोरा दीपेश राईको सक्रियतामा तीन छोराले सो प्रतीक्षालय भवन निर्माण गरेका हुन् । तीन छोरामध्ये माइलो दीपेश नेकपा (एमाले) धरमपुरको अध्यक्ष हुन् । उनी लामो समयदेखि धरमपुरको विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील छन् । आज धरमपुर प्रहरी चौकीमा आयोजित एक कार्यक्रमबीच इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले प्रतीक्षालय भवनको उद्घाटन गरे । कार्यक्रममा प्रतीक्षालय भवन निर्माणकर्ता दीपेश राईले प्रहरी कार्यालयमा आगन्तुकलाई आराम गर्न प्रतीक्षालय निर्माण गरिएको बताए । रासस