इनरुवा/ कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा खर काट्न गएका स्थानीय चारजना बुधबार बँदेलको आक्रमणबाट घाइते भएका छन् ।पश्चिमकुशाहा–४ स्थित आरक्ष कार्यालयले प्रत्येक वर्षभैं यस वर्ष पनि खरखडाइका लागि आरक्ष क्षेत्र खुल्ला गरेपछि खर काट्न गएकाहरु बँदेलको आक्रमणमा परी घाइते भएका हुन् ।

आरक्ष कार्यालयका अनुसार बँदेलको आक्रमणबाट पश्चिमकुशाहा–८ की रीना उराव, ९ नं. वडाका चन्द्रदेव यादव, सङ्गीता चन्द्रवंशी र रामे उराव घाइते भएका छन् ।घाइतेमध्ये सङ्गीता र रामेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ भने चन्द्रदेव र रीनाको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको आरक्ष संरक्षण अधिकृत श्यामकुमार साहले बताए । घाइतेमध्ये रीनाको दुवै खुट्टामा बँदेले चिरेको हुँदा ३२ वटा टाँका लगाइएको जिल्ला अस्पतालका स्वास्थ्यकर्मी जीवन मेहताले जानकारी दिए । चन्द्रदेवको अनुहार चिथोरिएको र पिठ्यँुमा च्यातिएको उनका छोरा अशोकले बताए ।

सुनसरी, सप्तरी र उदयपुर गरी तीन जिल्लामा पैmलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र यस वर्ष बुधबारबाट खरखडाइका लागि खुल्ला गरिएको हो । आरक्ष कार्यालयका अनुसार मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको पहलमा तीन दिनका लागि खरखडाइ गर्न खुल्ला गरिएको हो । खरखडाइ गर्नका लागि माघ २ गतेदेखि ४ गतेसम्म तीन दिन खरको पूर्जी वितरण गरिएको र बुधबारबाट आरक्ष कार्यालय क्षेत्र र विभिन्न छवटा पोष्टबाट प्रवेश खुल्ला गरिएको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।

खरको पूर्जी लिएकाहरुले बुधबारदेखि माघ ७ गतेसम्म तीन दिन आरक्ष क्षेत्रभित्र खरखढाइ गर्न पाउने व्यवस्था गरिएको संरक्षण अधिकृत साहले बताए । खरखडाइ गर्न कार्यालयले तोकिएको नाकाबाहेक अन्यत्रबाट प्रवेश गर्न नपाइने बताइएको छ । आरक्ष क्षेत्रभित्र प्रवेश गर्ने व्यक्तिले आरक्षभित्र कुनै किसिमको हानी–नोक्सानी गर्न नपाउने तथा चोटपटक लागेमा वा मृत्यु भएमा समेत त्यस्तो हानी नोक्सानी, चोटपटक वा मृत्यु भएवापत् क्षतिपूर्तिको व्यवस्था नेपाल सरकारले नगर्ने साहले जनाए ।