बेलबारी/मोरङको बेलबारी नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण आइतबार सम्पन्न भएको छ । कार्यक्रममा बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होमप्रसाद पौडेलले आर्थिक वर्ष २०७४÷०७५ को लागि करीब १२ करोडको बजेट प्रस्तुत गरेका छन् ।

बजेटमा आन्तरिक तथा विविध आम्दानीमा १ करोड ६० लाख रहेको छ भने बाँकी सरकारको पूँजीगत रहने छ । बजेटले पक्की सडक, फोहोर व्यवस्थापन, बिजुली, पुल निर्माण, बाटो ग्राभेल लगायतका विकासका योजनाहरुलाई समेटेको छ ।प्रस्तुत् योजना र बजेटमाथि स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुले टिप्पणी र सुझाव पेश गरेका थिए । कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य प्रताप थापा, एमाले जिल्ला सदस्य इरान राई, माओवादी केन्द्रका नगर इञ्चार्ज पर्शुराम सुवेदी, नेपाली काङ्ग्रेस महासमिति सदस्य महेन्द्र सुवेदीले टिप्पणी तथा सुझाव राखेका थिए ।

सोही अवसरमा नगरपालिकाका इमान्दार र लगनशील कर्मचारीहरुलाई प्रोत्साहनस्वरुप पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा प्राविधिक सहायत कृष्णकुमार चौधरी, कम्प्युटर अपरेटर भद्रबहादुर घले, बहिदार सरजुगलाल चौधरी छन् ।यसैगरी आदिवासी जनजाति महासङ्घ बेलबारीले नगर क्षेत्रमा सोलार बत्ति, फोहोर व्यवस्थापन लगायतका सामाजिक कार्यहरु सफलतापूर्वक सम्पन्न गरेको भन्दै महासङ्घका अध्यक्ष तिलकप्रसाद राईलाई सम्मान गरिएको थियो । यस्तै सबैभन्दा बढी कर बुझाउने मधुमाया बस्नेत, समयमै योजना सम्पन्न गर्ने उपभोक्ता समितिका अध्यक्ष सन्तोष लिम्बू, बजार व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर गुरुङ, वडा नागरिक मञ्चका सक्रिय संयोजक गंगाबहादुर गुरुङलाई मरणोपरान्त सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा बेलबारी विकास बोर्डका अध्यक्ष नगेन्द्र कट्टेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा धिमाल जाति विकास केन्द र भाँगड उराँव उत्थान समाजका कलाकारहरुले साँस्कृतिक प्रस्तुति राखेका थिए ।