इलाम/ जिल्लाका अधिकांश सरकारी कार्यालयमा जेनेरेटरको सुविधा नहुँदा विद्युत् अवरुद्ध भएको समयमा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।जिल्लाकै प्रमुख कार्यालय जिल्ला प्रशासनमा समेत यो सुविधा नहँुदा अनिश्चित समयमा दिनहुँजसो विद्युत्को अवरुद्ध हुने भएकाले सेवाग्राहीहरू रित्तो हात फर्कनुपर्ने समस्या छ ।
घरायसी काम नै छाडेर ग्रामीण क्षेत्रबाट सदरमुकाम आउँदासमेत कार्यालयमा काम नभएपछि उनीहरूले बढी सास्ती खेप्ने गरेका छन् । ‘सदरमुकाम आउन एक महिना अगाडिबाट समय मिलाउनुपर्छ’, एक सेवाग्राहीले भने, ‘तर मुख्य काम नै नहुने भएपछि निराश भएर फर्कनुपर्ने समस्या बढेको छ ।’ केही दिनअघि जिल्ला प्रशासनका कर्मचारीले विद्युत् नभएको कारण काम गर्न नसकिने बताएपछि आफु घर फर्किएको उनले बताए ।
इलाम नगरपालिका कार्यालयमा पनि जेनेरेटरको सुविधा नभएको शाखा अधिकृत रामकुमार शाहले बताए । शाहका अनुसार कार्यालयको भवन पनि अस्थायी भएको कारण जेनेरेटर ल्याउन समस्या परेको हो । उनले विद्युत् नभएको समयमा सोलारबाट काम गर्ने गरेको र सोलार नभएको बेला भने काम गर्न समस्या हुने गरेको जानकारी दिए ।यस्तै मालपोत कार्यालयका सूचना अधिकारी देउकुमार लावतीले पनि पर्याप्त जेनेरेटरको सुविधा नहुँदा काममा समस्या पर्ने गरेको बताए ।
सबैभन्दा व्यस्त र सेवाग्राहीको भीड लाग्ने कार्यालय मालपोत भए पनि विद्युत् नभएको बेला काम गर्न कठिनाइ रहेको उनको भनाइ छ । विद्युत् नभएको समयमा काम गर्न सहज नहुनाले सेवाग्राहीहरू मर्कामा परेकाले कार्यालयमा तत्काल जेनेरेटर ल्याइने सहायक जिल्ला प्रमुख अधिकारी सुजन फागोले बताए । उनले जिल्लाका अधिकांश सरकारी कार्यालयमा जेनेरेटर नभएको बताउँदै तत्काल सुविधा उपलब्ध गराइनेसमेत जनाए ।