ताप्लेजुङ/पुर्वी पहाडि जिल्ला ताप्लेजुङमानै गुणस्तरिय ईट्टा उत्पादन हुन थालेपछि स्थानियलाई राहत मिलेको छ ।भिएसबिके नामक संस्थाको प्राविधिक सहयोगमा जिल्लाको नाङ्खोल्याङ गाविसमा ईट्टा उद्योग स्थापना भए सँगै घर तथा भवन निर्माण गर्ने जिल्ला बाहिरबाट ईट्टा ल्याउनुपर्ने बाध्यता हटेको हो ।

करीब एक करोड लगानिमा भवन निर्माण सँगै माटोको गुणस्तरीयता अध्यायन गरी स्थापना गरीएको यस उद्योगबाट दैनिक पाँच ट्रक सम्म ईट्टा उत्पादन गरी ताप्लेजुङ र पाँचथरको विभिन्न स्थानमा पठाउने गरेको उद्योगका व्यवस्थापक कुमार डाँगीले बताए । जिल्लामानै उद्योगबाट गुणस्तरीय ईट्टा उत्पादन भएपछि सदरमुकाम क्षेत्रमा निर्माणधिन घर तथा सरकारी कार्यालयका भवनहरुले समेत सोहि स्थानबाट ईट्टा आयत गर्ने गरेको डाँगिको भनाई छ ।

यस अघि जिल्लामा ईट्टा उद्योग नहुँदा घर तथा भवन निर्माणका लागि झापाको बिर्तामोडबाट महँगो भाँडा तिरी ईट्टा ल्याउनुपर्ने बाध्यता रहेको थियो । अहिले सदरमुकाम देखि बिस किलोमिटरको दुरीमानै ईट्टा उद्योग स्थापना भए पछि कम मुल्यमानै खरीद गर्न सकिने हुँदा राहत मिलेको स्थानिय बिरेन लिम्बुले बताए ।

उद्योग स्थापना भए सँगै स्थानियले रोजगार समेत पाएका छन् । अहिले सो ईट्टा उद्यागमा ८३ जना कामदार कार्यरत रहेका छन् । उनिहरुलाई एउटा ईट्टा बनाएको तीन रुपैयाँ दिने गरीएको व्यवस्थापक डाँकिको भनाई छ । यस स्थानमा उत्पादित ईट्टा २३ रुपैयाँ प्रति गोटा बिक्रि हुँदै आएको छ ।