ताप्लेजुङ /  जिल्लाका सरकारी कार्यालयहरुमा कर्मचारीको अनुपस्थिति बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कर्मचारीको छड्के जाँचलाई तिब्रता दिएको छ । केहि दिन अघि मात्र सेवाग्राहिको अत्याधिक चाप रहने चार वटा सरकारी कार्यालयको छड्के जाँच गरी कर्मचारीलाई स्पष्टिकरण सोधेको प्रशासनले सोमबार पाँच वटा कार्यालयमा छड्के जाँच गरेको प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले जानकारी दिनुभयो । प्रजिअ खड्काका अनुसार सोमबार जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला बन कार्यालय, जिल्ला पशुसेवा कार्यालय र महिला तथा बालबालिका कार्यालयको छड्के जाँच गरेको हो । छड्के जाँचको क्रममा कृर्षि र शिक्षा कार्यालयमा १÷१ जना कर्मचारी अनुपस्थित भेटिएका थिए भने वनमा ३, पशुसेवामा २ र महिला तथा बालबालिका कार्यालयमा कार्यालय प्रमुख सहित ४ जना कर्मचारी बिना जानकारी कार्यालयमा हाजिर नभएको पाईएको थियो । कृर्षि कार्यालयका प्राविधिक सहायक कपिलेश्वर यादव, शिक्षाका सह ईन्जिनियर विरेन्द्र प्रसाद यादब, बनका नायव सुब्बा प्रकास ढुङ्गाना, सहलेखापाल बल बहादुर विश्वकर्मा र खरिदार नरबहादुर महत कार्यालयमा विना जानकारी विदामा रहेको भेटिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । यस्तै जिल्ला पशु शेवा कार्यालयकी पशु स्वास्थ्य प्राविधिक हर्कमति लिम्बु र नायव पशु स्वास्थ्य प्राविधिक लिला मगर अनुपस्थित भेटिएका थिए भने महिला तथा बालबालिका कार्यालयका कार्यालय प्रमुख शुसिला चौधरीनै पुस २२ गते बाट कार्यालयमा हाजिर नभएको पाईएको थियो । यस्तै सोहि कार्यालयकि परियोजना अधिकृत सरिता लिङ्देन, सहायक महिला विकास निरिक्षक दिपाकुमारी लिम्बु सुब्बा र समविनि लिला लावती पनि कार्यालयमा हाजिर नभएको पाईएको प्रशासन कार्यालयले बताएको छ । अनुगमनका क्रममा सहायक महिला विकास निरीक्षक दिपाकुमारी लिम्बु सबै भन्दा बढि विस दिन देखि कार्यलयमा हाजिरी नभएको भेटिएको थियो भने त्यस पछि क्रमस जिल्ला शिक्षा कार्यालयका सह ईन्जिनियर विरेन्द्र प्रसाद यादब १८ दिन, महिला तथा बालबालिका कार्यालय प्रमुख शुसिला चौधरी र बन कार्यालयका सहलेखापाल बलबहादुर विश्वकर्मा १० दिन देखि कार्यालयमा हाजिर नभएको पाईएको छ । अन्य कर्मचारीहरु पनि घटिमा एक दिन देखि हाजिर नभएको भेटिएकाले स्पष्टिकरण सहित प्रशासनमा उपस्थित हुन निर्देशन दिएको प्रजिअ खड्काले बताउनुभयो । यस अघि गरीएको अनुगमनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुखनै अनुपस्थित भेटिएको थियो भने जिल्ला मालपोत कार्यालय, सिचाई डिभिजन कार्यालयका केहि कर्मचारी अनुपस्थित भेटिएको थियो । जिल्लाका सरकारी कार्यालयका प्रमुखलेनै आफुलाई विदामा बस्ने जानकारी गराए पनि कार्यालयमा कागजि प्रकृया नपु¥याउने गरेको भेटिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । अनुगमनका क्रममा हाजिरी, कार्यालय पोसाक र परीचय पत्रको छड्के जाँच गरीएको प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ ।