पथरी / यौनधन्दा गरिरहेको आरोपमा यहाँस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले तीन जोडीलाई आइतबार अपराह्न ४ बजे पक्राउ गरेको छ ।
पथरीका विभिन्न होटलमा छापा मारी तीन युवा र तीन युवतीलाई रङ्गेहात पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका युवतीहरू सबै विवाहित रहेको र उनीहरू सबैका श्रीमान् वैदेशिक रोजगारका लागि विदेशमा रहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजन कार्कीले बताए । उनले भने, ‘तीनैजना कसैका बुहारी र श्रीमती भएकाले आफन्त बोलाएर आइतबार नै जिम्मा लगाएका छौँ ।’ पथरीबजारमा यौनजन्य गतिविधिहरू समाप्त पार्न पहिलो प्रयास गरेको उनको भनाइ छ ।
यहाँको इलाका प्रहरी कार्यालयमा प्रमुख भएर आउने सबैले गर्ने पहिलो काम नै होटलमा छापा मार्ने हो । यसअघिका इन्स्पेक्टर रमेश बस्नेतले पनि शुरुमा यसैगरी होटलमा छापा मारे तर पछि तल्लो दर्जाका प्रहरी प्रयोग गरी होटल सञ्चालकसँग सेटिङ मिलाएर रकमको लेनदेन नै चलेको स्रोतहरूले बताएका छन् । पेशेवर नै राखेर दैनिक यौनधन्दा चलाउने होटलमा छापा नमारी रकम नदिनेहरूका होटलमा उनले पटक–पटक छापा मारेको गुनासो होटल व्यवसायी सङ्घका अध्यक्ष पृथ्वी आले मगरले बारम्बार गर्ने गरेका थिए । त्यसअघि आएका इन्स्पेक्टर रुद्र चुँडालको शैली पनि फरक थिएन । इन्स्पेक्टर कार्कीले भने यस विषयमा शङ्का नगर्न आग्रह गरे ।